काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले निरन्तर घटिरहेको सेयर बजारलाई ‘सुदृढ र गहन बन्दै गएको’ भनेका छन् । 

अर्थमन्त्रालयले शुक्रबार अपरान्ह बजेट कार्यान्वयनको कार्ययोजना लगायतका बिषयमा आयोजना गरेको पत्रकार  सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले यस्तो दाबी गरेका हुन् । 

उनले पछिल्लो सेयर पूँजीबजार सुदृढ, गहन, सवल, परिपक्व र गहिरो बन्दै गएको उल्लेख गर्दै भने–‘देशलाई आवश्यक पूँजीबजार परिचालनका लागि सेयर बजारले महत्वपूर्ण सहयोग गर्नेछ । किनभने यो परिपक्व बन्दै गइरहेको छ ।’ 

उनले लगानीको वातावरण बन्दै गएको दाबी गर्दै विदेशी दातृ निकायहरु नेपालमा सहयोग तथा लगानी गर्न आतुर रहेका बताए । ‘सबै दातृ निकायहरुले थप सहयोग गर्न तयार छौ भनेका छन् ।’ उनले थपे–‘लगानीका लागि विश्वासको वातावरण बनाउन हामी सफल भएका छौ । सरकारले निजी क्षेत्रको विश्वास आर्जन गरेको छ ।’ 

उनले लगानी बोर्डलाई क्रियाशील बनाउन निर्णय प्रक्रियालाई छिटोछरितो बनाउने लगायतमा सुधारका लागि लगानी बोर्ड ऐन परिमार्जनको काम अन्तिम अवस्था पुगेको समेत बताए । 

उनले विदेशी लगानीकर्ताहरुले लगानी गर्दा विनिमय दरबाट हुनसक्ने जोखिम अन्तका लागि हेज फण्डको छलफल अगाडि बढाइएको र तत्कालका लागि नेपाल राष्ट्रबैंकले नै हेजिङ सेवा दिने समेत बताए । 

उनले भारुमा समेत वैदेशिक ऋण भित्र्याउन पाइने मौद्रिक नीतिको व्यवस्थालाई कतिपयले गलत अर्थ लगाएका उल्लेख गर्दै एभरेष्ट र नेपाल एसबीआई बैंकले प्यारेन्ट बैंकमार्फत त्यस्तो लगानी भित्र्याउनसक्ने बताए ।