काठमाण्डौ । पूँजीबजार परिसूचक(नेप्से इण्डेक्स) घटे पनि यसले लगानीकर्ताको मनोबल नगिराएको बजारको पछिल्लो प्रवृतिले देखाइरहेको छ । इण्डेक्स दोहोरो अंकले घट्दा पनि कारोबार रकम भने मेन्टेन भइरहेका कारण लगानीकर्ताहरु राम्रा कम्पनीमा लगानी गर्न अझै उत्साहित रहेका देखिएको हो । 

पूँजी वृद्धिको चापका कारण बैंक तथा बित्तीय संस्थाहरुले धमाधम लाभांश र हकप्रद घोषणा तथा जारी गर्न थालेपछि लगानीकर्ता पनि यस्तै कम्पनीहरुमा थुप्रिएका छन् । लाभांश वितरण तथा घोषणाको चाप झै तिनै कम्पनीमा लगानीकर्ताको चाप बढ्दा कारोबार रकम दैनिकजसो मेन्टेन भइरहेको हो । 

मंगलबार पनि बजारमा यस्तै प्रवृति देखियो । १७.९८ अंकले इण्डेक्स घटेर १७८६.५० मा झरे पनि कारोबार रकम चाहि १ अर्ब ३४ करोड भन्दा माथि पुगेको छ । 

मंगलबार होटल र बिमा समूह बाहेक सबै समूहको सूचकमा रातो पोतियो । सबैभन्दा बढी वाणिज्य बैंक समूह २३.६ अंकले घट्यो भने विकास बैंक १९.८ र बित्त समूहमा पनि १०.६३ अंकको गिरावट देखियो । जलविद्युत समूह २८.२६ अंकले घट्दा अन्य समूह १०.४१ अंकले ओर्लियो । तर होटल समूह १४.८८ अंकले उक्लियो भने बिमाको सूचकमा पनि ३५.३५ अंकको बढोत्तरी भयो । 

सेन्सेटिभ इण्डेक्स करिब ४ प्रतिशतले घट्यो भने फ्लोट इण्डेक्समा पनि १.४५ प्रतिशतको गिरावट देखियो । 

धेरै कारोबार कम्पनी
मंगलबार सबैभन्दा बढी नबील बैंकको १७ करोड ७४ लाखको सेयर किनबेच भयो । एनआइसी एशिया बैंकको १२ करोड ६१ लाखको सेयर कारोबार हुँदा ६ करोड ६७ लाख रुपैयाँ बराबरको नवील बैंककै प्रोमोटर सेयरको खरीदबिक्री भयो । 

नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ८८ लाख, सिद्धार्थ बैंकको ४ करोड ८५ लाख, एनबी बैंकको ४ करोड ५८ लाख, कृषि विकास बैंकको ४ करोड ४७ लाख, सनराइज बैंकको ४ करोड ३४ लाख र एनएमबी बैंकको ४ करोड २५ लाखको सेयर किनबेच भयो । नेशनल लाइफ इन्स्योरेन्सले ३ करोड ३२ लाख बराबरको कारोबार गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
इण्डेक्स घटे पनि मंगलबार चारवटा कम्पनीले १० प्रतिशतको हाराहारीमा सम्पत्ति बढाएका छन् । सेती फाइनान्स लिमीटेड र मिर्मिरे माइक्रो फाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ । किसान माइक्रो फाइनान्स बित्तीय संस्था र न्याग्दी ग्रुपर पावर लिमीटेडको सेयर मूल्यमा क्रमशः ९.९९ र ९.८१ प्रतिशतको वृद्धि भयो । 

मंगलबार सबैभन्दा बढी नेरुडे लघुवित्त विकास बैंक र अल्पाइन डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । नेरुडेको सेयर मूल्य ६ प्रतिशतले घटेको छ भने अल्पाइनको ५ प्रतिशत भन्दा बढीले गिरावट आएको छ । राप्तिभेरी विकास बैंकका लगानीकर्ताले पनि ४.५० प्रतिशतले सम्पत्ति गुमाएका छन् ।