काठमाण्डौ । केही दिनदेखि निरन्तर घटिरहेको बजारमा सामान्य बढोत्तरी भएको छ । सोमबार नेप्से परिसूचक ६.१६ अंकले बढेर १२२०.५२ को विन्दूमा पुग्यो । 

नेप्से परिसूचक सामान्य बढेको दिन कारोबार रकम भने ३७ करोड भन्दा केही माथि मात्र सीमित रह्यो । 

लगातार घटेको बजारमा कतिपय कम्पनीको सेयर सस्तोमा पाइने भएपछि केही लगानीकर्ताको आकर्षण बढ्दा बजार सामान्य रुपमा बढेको विश्लेषकहरुले बताएका छन् । 

यो दिन जीवन बिमा समूह ४.७१ अंकले घट्यो भने अन्य समूहमा ३.९५ अंकको गिरावट देखियो । बाँकी सबै समूहको सूचक हराभरा भए । 

बैंकिङ समूह ७.६१ अंकले बढेको यो दिन निर्जीवन बिमा समूह ३०.५ अंकले बढ्यो । यस्तै, होटल समूह ४८.४३ अंकले बढ्यो भने विकास बैंक समूह ११.८७ अंक, जलविद्युत समूह १ अंक, बित्त समूह १.९२ अंक, उत्पादनमूलक १३.५६ अंक र माइक्रोफाइनान्स समूह ९.०२ अंकले बढे । 

‘क’ वर्गका कम्पनीमा खरीद चाप बढ्दा सेन्सेटिभ इण्डेक्स १.२९ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि ०.५८ अंकको बढोत्तरी देखियो। 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६३ कम्पनीका १४ लाख ५१ हजार ५ सय ७२ कित्ता सेयर ३७ करोड १६ लाख ५६ हजार ९ सय २३ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी माछापुच्छे बैंकले ९ करोड ६९ लाख बढीको कारोबार गर्यो । यस्तै, एनआइसी एशिया बैंकले १ करोड २७ लाख, एनसीसी बैंकले १ करोड २६ लाख, हिमालयन डिस्टीलरीले १ करोड ९ लाख, मेगा बैंकले १ करोड २ लाख, सानिमा बैंकले ९८ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ९० लाख, प्रभू बैंकले ८३ लाख, एनएमबी बैंकले पनि ८३ लाख र प्रिमियर इन्स्योरेन्सले ७२ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा नाडेप लघुवित्तकै लगानीकर्ताले बढी कमाए । यो कम्पनीको सेयर मूल्य अघिल्लो दिन झै १० प्रतिशतको हाराहारीमा बढ्यो । 

यो दिन मञ्जुश्री फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ३ प्रतिशतले घट्न पुग्यो ।