काठमाण्डौ । आउँदो मंसिर महिनादेखि बिजुलीको महसुल घट्ने भएको छ। 

विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गर्दै बुधबार नयाँ दर सार्वजनिक गरेको छ। जसअनुसार बिजुलीको महसुल घटेको छ। 

नेपाल विद्युत प्राधिकरणको प्रस्तावका आधारमा आयोगले नयाँ महसुल दर तय गरेको हो। अब मंसिरदेखि ५ एम्पियरको लाइन लिने सिंगल फेज घरायसी ग्राहकले २० युनिटसम्म खपत गर्दा सर्भिस चार्जबापत ३० रुपैयाँमात्रै तिर्नुपर्नेछ। यसका लागि प्राधिकरणले वर्षमा ७५ करोडबराबर लगानी गनुपर्नेछ।

आयोगले इन्डक्सन चुलो र विद्युतीय उपकरणको प्रयोग बढी हुने युनिटअनुसारको स्ल्याबमा पनि महसुल दर घटाएको छ। अहिलेसम्म सिंगल फेजमा ५, १५, ३० र ६० एम्पियर गरी ९ वटा स्ल्याब राखेर महसुल लिँदै आएको छ। अब भने यस्तो स्ल्याबलाई ६ वटामा झारिएको छ। यसले इन्डक्सन चुलोको प्रयोग गर्ने ग्राहकलाई थप सहुलियत मिल्ने आयोगको दाबी छ। 

अब २० युनिटसम्मको पहिलो स्ल्याब हुनेछ। त्यसपछि २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि २५० र २५१ युनिटभन्दा माथिसम्मको स्ल्याब कायम गरिएको छ।

मासिक १०१ युनिटभन्दा बढी खपत गर्ने ग्राहकले तिर्नुपर्ने महसुल घटेको छ। यीभन्दा माथिका २ वटा स्ल्याबमा प्रतियुनिट ५० पैसादेखि १ रुपैयाँसम्म कम महसुल कायम भएको छ। यसले इन्डक्सन चुलो प्रयोगकर्ताको महसुल कम हुने आयोगको दाबी छ।

व्यवसाय सञ्चालनमा कति ?

अब व्यवसाय सञ्चालनका लागि ४०० भोल्टको थ्री फेजको लाइन लिने घरायसी वर्गका ग्राहकले १ युनिटको वर्षामा १०.५० र हिउँदमा ११.५० रुपैयाँ फरक–फरक महसुल तिर्नुपर्ने हुन्छ। यसअघि ४०० युनिटसम्म खपत गरेमा ११.५० रुपैयाँ र ४०० युनिटमाथि खपत गरेमा १२ रुपैयाँ महसुल थियो।

सिँचाइका ग्राहकको महसुल पनि घट्यो

सिँचाइका ग्राहकको महसुल पनि घटेको छ। सिँचाइ ग्राहको महसुल ८० प्रतिशतसम्म घटाइएको छ।

२३०/४०० भोल्ट बिजुली उपयोग गर्ने ग्राहकको हकमा सिँचाइका ग्राहकले अब प्रतियुनिट २.२५ रुपैयाँ महसुल तिरे पुग्छ। यसअघि प्रतियुनिट ४.३० रुपैयाँ महसुल थियो। 

सिँचाइका ३३ केभीका ग्राहकले प्रतियुनिट २.५० रुपैयाँ महसुल तिर्नुपर्नेछ। यसअघि यो स्ल्याबमा प्रतियुनिट महसुल ४.८० रुपैयाँ थियो।

यसैगरी ११ केभीका सिँचाइ ग्राहकले भने प्रतियुनिट २.६० रुपैयाँ महसुल तिर्नुपर्छ। यसअघि यो स्ल्याबमा प्रतियुनिट ४.९० रुपैयाँ थियो।

सिँचाइमा दिइएको सुविधाका लागि विद्युत प्राधिकरणले वर्षमा ५६ करोड रुपैयाँ योगदान गर्नुपर्नेछ।