काठमाण्डौ । इन्धनको भाउ घटेसँगै वायु सेवा कम्पनीहरुले आन्तरिक हवाई भाडा दर घटाएका छन्।

नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको थियो। इन्धनको मूल्य घटेसँगै वायुसेवा सञ्चालक संघले पुस २७ गतेबाट लागू हुने गरी नयाँ हवाई भाडा दर सार्वजनिक गरेको हो। 

नयाँ भाडादरअनुसार काठमाण्डौ–धनगढी उडानमा सबैभन्दा धेरै ८८५ रुपैयाँ भाडा घटेको छ। यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ८ हजार ३९५ रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ५१० रुपैयाँ तिरे पुग्नेछ। अब धनगढीको हवाई भाडा घटेर १६ हजार १४० रुपैयाँ कायम भएको छ। 

यसैगरी काठमाण्डौ–भद्रपुर भाडा ६०० रुपैयाँ, काठमाण्डौ–विराटनगर ४८५, काठमाण्डौ–जनकपुर २६० रुपैयाँ, काठमाण्डौ–भरतपुर २१५ रुपैयाँ र काठमाण्डौ–पोखरा ३२० रुपैयाँ घटेको छ। यी रुटमा यात्रा गर्दा अब क्रमशः १२ हजार ३५५ रुपैयाँ, ९ हजार ७२० रुपैयाँ, ५ हजार ६०० रुपैयाँ, ४ हजार ७७५ रुपैयाँ र ६ हजार ६६५ रुपैयाँ तिर्नुपर्नेछ। 

यस्तै काठमाण्डौ–भैरहवाको नयाँ भाडादर ८ हजार २६५ रुपैयाँ कायम भएको छ। यो रुटमा ४४० रुपैयाँले हवाई भाडा घटाइएको छ।

संघले काठमाण्डौ–नेपालगन्जको भाडादर ६५५ रुपैयाँ, काठमाण्डौ–तुम्लिङटारको ३७० रुपैयाँ, काठमाण्डौ–सिमराको १८० रुपैयाँ, काठमाण्डौ–सिमराको १८० रुपैयाँ, काठमाण्डौ–सुर्खेत ६९० रुपैयाँ र काठमाण्डौ–राजविराज रुटको भाडादर ४११ रुपैयाँले घटाइएको छ। यी रुटमा अब क्रमशः १३ हजार ३२५ रुपैयाँ, ७ हजार ८३५ रुपैयाँ, ४ हजार ६० रुपैयाँ, १४ हजार ३०५ रुपैयाँ र ८ हजार ३४४ रुपैयाँ भाडा तिर्नुपर्नेछ। 

यसैगरी संघले काठमाण्डौ–माउन्टेन फ्लाइट भाडादर ६८५ रुपैयाँले घटेको छ। माउन्टेन फ्लाइटको नयाँ भाडादर १४ हजार २०५ रुपैयाँ कायम गरिएको छ।