काठमाण्डौ । जग्गाको कित्ताकाट खुले पनि कारोबार भने उत्साहजनक देखिएको छैन। 

सरकारले १ महिनाअघि जग्गा कित्ताकाट खुला गरेको थियो। शिथिल बनेको अर्थतन्त्रलाई घरजग्गाको कारोबार बढाएर चलायमान बनाउने लक्ष्य सरकारले राखेको छ। तर, घरजग्गाको कारोबार भने खासै सोचेजस्तो हुन नसकेको देखिन्छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौ महिनामा देशभर घरजग्गाको कारोबार संख्या ३५ हजार ६८६ रहेको छ। गत आर्थिक वर्षको भदौ महिनामा देशभर ३४ हजार ७२० संख्यामा घरजग्गा कारोबार भएको थियो। 

यो हिसाबले गत वर्षको भदौमा भन्दा यो वर्षको मदौमा करिब ३ प्रतिशतले मात्रै घरजग्गाको कारोबार बढेको छ। जुन सोचेजस्तो उत्साहप्रद नरहेको स्वयं व्यवसायीहरु नै बताउँछन्। 

चालु आर्थिक वर्षको साउनमा भने घरजग्गा कारोबार ३३ हजार ३४ संख्यामा भएको थियो।

चालु आर्थिक वर्ष २०८०–८१ को बजेट भाषणमा सरकारले घरजग्गा कारोबारमा सहजीकरण गर्ने घोषणा गरेको थियो। सोहीअनुसार सरकारले भू–उपयोग नियमावली संशोधन गरेर जग्गा कित्ताकाट खुला गरेको थियो। सरकारको यो कदमबाट घरजग्गा व्यवसायी उत्साहित भएका थिए। 

अन्य क्षेत्र अझै शिथिल रहेका कारण पनि घरजग्गाको कारोबार बढ्न नसकेको व्यवसायीहरुको भनाइ छ। ‘अन्य व्यापार–व्यवसाय खासै फस्टाएको छैन । मान्छेसँग पैसा छैन। क्रयशक्ति पनि घटेको छ’, एक जग्गा व्यवसायीले भने, ‘यस्तो अवस्थामा घरजग्गाको कारोबार कसरी बढ्छ ?’

अन्य क्षेत्रमा चलायमान नभएसम्म घरजग्गाको कारोबार पनि नफस्टाउने ती व्यवसायीको तर्क छ। 

विभागका अनुसार भदौ महिनामा घरजग्गाको कारोबारबाट ३ अर्ब ३६ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत साउनमा घरजग्गाको कारोबारबाट सरकारले २ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।