काठमाण्डौ । घरायसी ग्राहकको विद्युत् महसुल असार महिनादेखि लागू हुने गरी घटाइएको छ।

विद्युत् नियमन आयोगले यहीअसार महिनाको खपतमा लागू हुने गरी घरायसी ग्राहकको विद्युत महसुल निर्धारण गरेको हो।  जसअनुसार अब ५ एम्पियर लाइन लिएका ग्राहकले मासिक न्यूनतम १० युनिटसम्म विद्युत् खपत गर्दा ३० रुपैयाँमात्र डिमान्ड शुल्क तिरे हुन्छ। बिजुली भने निःशुल्क उपलब्ध गराइनेछ।

यसैगरी ५ एम्पियर सिंगलफेज मिटर जोड्ने ग्राहकले ११ देखि २० युनिटसम्म बिजुली खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ तिर्नुपर्ने हुन्छ। यसका लागि प्रतियुनिट २ रुपैयाँ शुल्क कायम गरिएको छ।

यस्तै २१ देखि ३० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकले ५० रुपैयाँ इनर्जी शुल्क र प्रतियुनिट ६.५० रुपैयाँ महसुस बुझाउनुपर्ने हुन्छ। ३१ युनिटदेखि ५० युनिटसम्म विद्युत् खपत गर्दा भने ग्राहकले डिमान्ड शुल्कबापत ५० रुपैयाँ र प्रतियुनिट ८ रुपैयाँ महसुल तिर्नुपर्ने विद्युत् नियमन आयोगले जनाएको छ। 

आयोगका अनुसार ५१ युनिटदेखि १०० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकले डिमान्ड शुल्कबापत ७५ रुपैयाँ र प्रतियुनिट ९.५ रुपैयाँ विद्युत महसुल बुझाउनुपर्ने छ। यस्र्त १०१ देखि १५० युनिटसम्म डिमान्ड शुल्क १०० रुपैयाँ र प्रतियुनिट ९.५ रुपैयाँ शुल्क तिर्नुपर्ने आयोगले निर्धारण गरेको छ।

आयोगले निर्धारण गरेको नयाँ शुल्कअनुसार १५१ युनिटदेखि २५० युनिटसम्म ग्राहकले विद्युत् खपत गर्दा १२५ रुपैयाँ डिमान्ड शुल्क अनि प्रतियुनिट १० रुपैयाँ महसुल तिर्नुपर्ने भएको छ। २५१ युनिटदेखि ४०० युनिटसम्म भने ग्राहकले १५० रुपैयाँ डिमान्ड शुल्क र प्रतियुनिट ११ रुपैयाँ महसुल बुझाउनुपर्ने हुन्छ। 

आयोगका अनुसार ४०० भन्दा बढी युनिट विद्युत खपत गर्ने ग्राहकले नयाँ निर्धारित शुल्कबमोजिम डिमान्ड शुल्क १५० रुपैयाँ र १२ रुपैयाँ प्रतियनिट महसुसल बनाउनुपर्छ। 

यसैगरी आयोगले घरायसी प्रयोजनका लागि १५ देखि ६० एम्पियरसम्म विद्युत् लाइन लिँदा खपतका आधारमा फरकफरक दर पनि तोकेको छ।