काठमाण्डौ । सेयर बजारकै मुख्य हब काठमाण्डौमा निषेधाज्ञा जारीका बाबजुद दैनिक कारोबार रकम औसतमा १ अर्ब हुन थालेको छ ।

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी भए पनि खुलेको धितोपत्र बजारमा बिहीबार ४० करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो भने आज आइतबार कारोबार रकम बढेर १ अर्ब १० करोड रुपैयाँ पुग्यो । 

गत बिहीबार धितोपत्र बजार नियमित सञ्चालन पो नहुने हो कि भन्ने लगानीकर्तामा अन्यौल थियो र सोही अन्यौलले गर्दा कारोबार रकममा समेत संकुचन आयो । 

यस्तै गत साता बिहीबारदेखि नै निष्कासन भएको रिलायन्स लाइफ र समाज लघुवित्तको आइपीओमा लगानीकर्ताको ध्यान जाँँदा कारोबार रकम खुम्चिन पुग्यो । गत शुक्रबार स्टक ब्रोकर एसोसिएसनले सेयर खरिदबिक्रीको भुक्तानी ब्रोकर र लगानीकर्ताले अनिवार्य विद्युतीय माध्यमबाट हुने भएपछि लगानीकर्तामा नयाँ आशाको सञ्चार भएको छ ।

कोरोना संक्रमणलाई न्यूनीकरण तथा नियन्त्रण गर्न काठमाण्डौ उपत्यका र देशभरका मुख्य सहरहरुमा निषेधाज्ञा जारी भएतापनि कारोबार रकम औसतमा दैनिक १ अर्ब रुपैयाँ हाराहारी हुनुले सेयर बजारले नयाँ युग अर्थात् प्रविधितर्फको खुड्किलो टेक्न थालेको रुपमा बुझ्न सकिन्छ । 

निषेधाज्ञाका बाबजुद कार्यालयमा २-३ जना कर्मचारीबाट सहजीकरण गर्दै आफ्ना लगानीकर्तालाई ब्रोकरेज सेवामा कुनै कसर बाँकी नरहेको स्टक ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटीज प्रालिका अध्यक्ष दिनेश शर्मा बिडारीको भनाइ छ । गत बिहीबार र शुक्रबार अनि शनिबारको समयमा घरबाटै सम्पूर्ण सेवा प्रदान गर्न सिस्टम बनाउन समय मिलेकाले समेत सकभर सेवा प्रवाहमा कुनै कमी नगरिएको उनले सुनाए । 'गत बिहीबार बजार निरन्तर खुल्ने कि नखुल्ने विषयमा अन्यौल थियो, तर त्यसबाट लगानीकर्तामा पुनर्ताजगी आयो ।' शर्माले बिजशालासँग भने-'अन्य क्षेत्र सुषुप्त भई सेयर बजार चाहिँ खुल्दा लगानीकर्ताहरु पनि निकै आक्रामक रुपमा प्रवेश गरिरहेका छन् ।' 

आजजस्तै कारोबार रकमले साथ दिँदै गए बजारले आशावादी हुने ठाउँ धेरै देखाएको उनको ठहर छ ।

यस्तै विषम परिस्थितिमा स्टक ब्रोकरहरुले हिजोआज एकाधबाहेक सबै सेवा घरबाटै दिएको बताएका छन् । स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले लकडाउनको अन्त भएपछि फण्ड ट्रान्सफर टीएमएस(ट्रेडिङ मेनेजमेन्ट सिस्टम) बाट अनलाइन र एनसीएचएलको कनेक्ट आइपीएसमार्फत् पनि भइरहेकाले ब्रोकर र लगानीकर्ता दुवैलाई धेरै सहज भइरहेको सुनाए । ब्रोकरबाट सेयर किनबेच गर्न अनलाइनबाट केवाइसी फारम भर्न मिल्ने सुविधा भएसँगै निषेधाज्ञा अघि र पछिमा कुनै असर नगरेको उनको दाबी छ । 'अहिले झन् सहज रुपमा ब्रोकरेज सेवा दिन पाउँदा राम्रो भएको छ ।'-रानाभाट भन्छन् ।

स्टक ब्रोकर नम्बर ४६, कालिका सेक्युरिटीजका कार्यकारी अध्यक्ष तथा स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष नरेन्द्र सिजापतीले पनि सीएनएस(सेटलमेन्ट एण्ड क्लियरिङ)बाहेक सबै सेवा इन्टरनेटमा आधारित भई घरबाटै सेवा प्रवाह भइरहेको बताए । निषेधाज्ञा अघि र पछि आफ्नो ब्रोकर हाउसबाट केही ठूला लगानीकर्ता निष्क्रिय रहेका भए पनि नयाँ लगानीकर्ताको प्रवेश उल्लेख्य रुपमा बढिरहेको उनको दाबी छ । 

यसैगरी, स्टक ब्रोकर नम्बर ३४, भिजन सेक्युरिटीज प्रालिका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाका अनुसार निषेधाज्ञा अघि र पछिमा सेयर कारोबारमा खासै असर परेको छैन । आफ्नो ब्रोकर कम्पनीमार्फत् ग्राहकले अनलाइन युजर लिएपछि सेयर कारोबारको फ्लो यथावत रहेको उनको भनाइ छ ।  डीपी सेवा भने इन्ट्रानेट भएकाले सीमित २-३ जना कर्मचारी ब्रोकर कार्यालय आउनैपर्ने बाध्यता रहेको र अब निकट समयमा नै सो सेवा पनि घरबाटै गर्न मिल्ने बनाउने तयारी भइरहेको उनले सुनाए ।

असहज परिस्थितिमा पनि धितोपत्र बजार निरन्तर खुलिरहनु र साताको सुरु दिन आइतबार इण्डेक्स तथा कारोबारले सकारात्मक सन्देश दिएकोतर्फ संकेत गर्दै भेट्रान लगानीकर्ता अम्बिकाप्रसाद पौडेल भन्छन्-'बजारले जे आउँछ मजाले पचाउँछ ।'