काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले घोराही सिमेन्ट इन्डस्ट्रीले सर्वसाधारणका लागि बिक्री खुला गरिरहेको आईपीओ तथ्यांक पठाउन निर्देशन दिएको छ। 

ओभरसब्सक्राइब्ड भइसकेको घोराही सिमेन्टको आईपीओमा आज असार ४ गते निष्कासनको अन्तिम दिन थियो। तर, ओभरसब्सक्राइब्ड भइसक्दा पनि यो कम्पनीले आज एक सूचना जारी गर्दै आईपीओमा आवेदन दिने म्याद लम्ब्याएको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)को नियमअनुसार कुनै पनि कम्पनीको आईपीओ ५० प्रतिशतभन्दा कम सब्सक्राइब्ड भएको अवस्थामा आईपीओ निष्कासन प्रक्रिया नै रद्द हुन्छ। तर, ५० प्रतिशतभन्दा बढी सब्सक्राइब्ड भएको छ भने आईपीओमा म्याद थप गर्न सकिन्छ। तर, ओभरसब्सक्राइब्ड भइसकेको अवस्थामा भने तोकिएको ४ दिनभन्दा बढी समय आवेदन खुला गर्न पाइँदैन।

कम्पनीले यथोचित संख्यामा आवेदन प्राप्त भए पनि आवेदनहरु प्रमाणित हुने प्रक्रियामा रहेकोले आवेदन दिने म्याद असार १४ गतेसम्म थप गरिएको जनाएको छ। घोराही सिमेन्टले यसरी सूचना प्रकाशित गरी यसो भन्दा यो आईपीओमा सर्वसाधारण लगानीकर्ताले यसअघि नै गर्दै आएको शंका झनै बढाएको छ।

सेबोनको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विनयदेव आचार्य घोराही सिमेन्टको आईपीओमा हालसम्म परेको आवेदनको तथ्यांक पठाउन सम्बन्धित कम्पनी र धितोपत्र बिक्री प्रबन्धकलाई भनिसकेको बताउँछन्। ‘घोराही सिमेन्टको आईपीओमा अहिलेसम्म परेको आवेदनको प्रमाणीकरण भइनसकेको खबर आएको छ’, बिजशालासँग आचार्यले भने, ‘हामीले प्रमाणीकरण भए नभएका सबै तथ्यांक पठाउन भनिसकेका छौँ।’ 

आईपीओमा परेको आवेदनको तथ्यांक आएपछि थप स्पष्ट हुने आचार्यले बताए। ‘त्यसपछि मात्रै कसरी अगाडि बढ्ने भन्ने निक्र्यौल होला’, उनले भने।

घोराही सिमेन्टले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको छ। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको छ। यो आईपीओमा प्रतिकित्ता ४३५ रुपैयाँ दरका आवेदन दिनुपर्नेछ। जसमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेको छ। 

हिजो साँझ ५ बजेसम्म यो आईपीओमा ४ लाख ४५ हजार ८९० आवेदकबाट कुल १ करोड ७२ लाख ५५ हजार २५० कित्ता सेयर माग भएको थियो। जुन मागभन्दा २.४९ गुणाले बढी हो।

घोराही सिमेन्टको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन्। 

यो पनि पढौँ–

शंकाको घेरामा घोराही सिमेन्टको आईपीओ, ओभरसब्सक्राइब्ड हुँदा पनि भर्ने म्याद थप्नुलाई के भन्छ सेबोन ?

ओभरसब्सक्राइब्ड भइसकेको घोराही सिमेन्टको आईपीओमा किन बढाइयो आवेदन दिने म्याद ?