काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओका फर्जी आवेदकहरुको नाम सार्वजनिक गर्न लगानीकर्ताहरुले माग गरेका छन्। 

ठूलो संख्यामा सेयर आवेदन रद्द भएपछि घोराही सिमेन्टको आईपीआमो फर्जी आवेदन दिएर व्यापक चलखेल भएको खुलेको थियो। यसबारे जाँजबुझ गर्न भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोमबार एक सूचना जारी गर्दै हाललाई घोराही सिमेन्टको आईपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गर्ने निर्णय गरेको थियो। 

घोराही सिमेन्टले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले प्रतिकित्ता ४३५ रुपैयाँ तोकेको थियो। 

यो आईपीओमा ६५ हजारभन्दा बढी आवेदकबाट परेको ८५ लाखभन्दा बढी कित्ता आवेदन रद्द गरिएको थियो। बैंकमा पैसा नभएर वा सेयर मागअनुसार पर्याप्त पैसा नहुँदा ती आवेदन रद्द भएको सीडीएससीले जनाएको छ। 

अझै ६ आवेदकबाट परेको ६० लाख कित्ता सेयर माग रद्द गरिएको छ। यस हिसाबले यो आईपीओमा सोझासाझा लगानीकर्तालाई फसाउन ठूलो जाल थापिएको प्रस्ट हुने बजार पुराना लगानीकर्ता लीलाधर अधिकारी बताउँछन्। ‘धितोपत्र बोर्डले आईपीओ स्थगन गरेर ठीक गर्यो तर अब निष्पक्ष छानबिन गरेर फर्जी आवेदकहरुको नाम सार्वजनिक गर्नुपर्छ’, उनले भने, ‘तिनीहरुलाई भविष्य फेरि यस्ता फर्जी काम गर्नबाट रोक्न हदैसम्मको कारबाही गरिनुपर्छ।’

अब यो आईपीओमा खरिद आवेदन दिएर पैसा रोकिएकाहरुका विषयमा पनि धितोपत्र बोर्डले थप प्रस्ट पार्नुपर्ने अधिकारीको भनाइ छ। ‘अहिलेसम्म छानबिन पूरा हुने हो र यो आईपीओको निष्कासन प्रक्रिया अब के हुने हो ?’, उनले भने, ‘यसबारे छिट्टै निर्णय लिनुपर्छ। होइन भने अनुसन्धानका नाममा लगानीकर्ताकर्ताको पैसा लामो समयसम्म बन्धक बनाउन पाइँदैन।’

अर्का लगानीकर्ता विपीन कोइराला पनि आईपीओमा देखिएको यो विकृति हालसम्मकै ठूलो रहेको बताउँछन्। ‘यति ठूलो संख्यामा कहिल्यै सेयर रद्द भएको थिएन’, कोइरालाले भने, ‘यो सबै आमलगानीकर्तालाई फसाउन फर्जी आवेदन दिइएको रहेछ।’

१० लाख कित्ताका दरले फर्जी आवेदन दिने ६ आवेदकलाई धितोपत्र बोर्डले नामैसहित सार्वजनिक गर्नुपर्ने कोइरालाको माग छ। ‘यस्तो फट्याइँ गर्नेहरुको नाम अब धितोपत्र बोर्डले लुकाएर हुँदैन’, उनले भने, ‘उनीहरुको नाम सार्वजनिक गरेर हदैसम्मको कारबाही गर्नुपर्छ।’

यो मुद्दाको छिनोफानो छिट्टै टुंगो लगाएर धितोपत्र बोर्ड आमलगानीकर्तालाई राहात दिनुपर्ने कोइरालाको भनाइ छ। 

सक्रिय लगानीकर्ता मनीष त्रिपाठी पनि ती फर्जी आवेदकको नामहरु सार्वजनिक गर्दै धितोपत्र बोर्डले कडा कारबाही गर्नुपर्ने बताउँछन्। ‘यो कम्पनीको आईपीओमा पहिलेदेखि लगानीकर्ता फस्ने चर्चा थियो, जुन हिजोको घटनाले पुष्टि गरेको छ’, त्रिपाठीले भने, ‘अब यो आईपीओ रद्द गर्नुपर्छ र यो कम्पनीका बारेमा धितोपत्र बोर्डले थप अध्ययन गरेरमात्रै आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउनुपर्छ।’