– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आधाभन्दा बढी सेयर खरिद आवेदन फर्जी पाइएपछि घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओको निष्कासन प्रक्रिया स्थगित गरेको छ। 

आईपीओ ओभरसब्सक्राइब्ड भइसकेको अवस्थामा पनि कम्पनीले आवेदन दिने म्याद थप गरेपछि ठूलो परिमाणको सेयर खरिद आवेदन फर्जी भएको खुलासा भएको थियो। हाल यस विषयमा धितोपत्र बोर्डले अनुसन्धान थालेको छ भने यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको छ। अख्तियारीले १० लाख कित्ताका दरले फर्जी खरिद आवेदन दिने १२ जनाको फाइल मगाएर अनुसन्धान थालेको छ। 

घोराही सिमेन्टले सर्वसाधारणका लागि करिब ७० लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले पार भ्यालु १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम थपेर सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो। 

लगानीकर्ताले आईपीओ निष्कासनकै प्रक्रियामा रहेको बेलामा घोराही सिमेन्टको क्रेडिट रेटिङमा जालझेल भएको भन्दै धितोपत्र बोर्डमा उजुरीसमेत दिएका थिए। तर, धितोपत्र बोर्डले उजुरीमा चासो नदिँदा अहिले लाखौँ लगानीकर्ताको अर्बौं रकम बन्धक बनेको छ। 

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफैँले अर्थ समितिको मंगलबारको बैठकमा घोराही सिमेन्टको रेटिङमा आफूहरु चुकेको स्वीकारेका थिए। उनले यस विषयमा अनुसन्धान गर्ने पनि जानकारी गराएका थिए।

घोराही सिमेन्टको विषयमा बजारमा मात्रै नभएर अहिले धितोपत्र बोर्डभित्र पनि हंगामा मच्चिएको स्रोत बताउँछन्। ‘२–३ दिन भयो लगातार घोराही सिमेन्टकै विषयमा धितोपत्र बोर्डका पदाधिकारीहरुको ढोका बन्द गरेर बैठकहरु हुने गरेको छ’, स्रोतले भन्यो।

घोराही सिमेन्टको सेयर निष्कासन हुँदा क्रेडिट रेटिङमा धितोपत्र बोर्डबाट गम्भीर त्रुटि भएको स्वयं कर्मचारीहरु नै बताउँछन्। ‘क्रेडिट रेटिङमा स्वार्थ मिल्ने समूहले गरेको र आर्थिक चलखेलसम्म भएको हुन सक्छ’, एक कर्मचारीले भने। 

अधिकांश ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरुबीच अहिले घोराही सिमेन्टकै चर्चा चल्ने गरेको छ। अधिकांश लगानीकर्ताले घोराही सिमेन्टको आईपीओमा व्यापक चलखेल भएको आशंका गरेका छन्। ‘यसअघि धितोपत्र बोर्डकै हाकिमले सर्वोत्तम सिमेन्टमा गोल्डेन सेयर लिएको खुलेको थियो’, एक लगानीकर्ताले भने, ‘तर, घोराही सिमेन्टमा गोल्डेन होइन डायमन्ड सेयर नै लिएको हुन सक्छ। होइन भने कम्मजोर वित्तीय अवस्था भएको कम्पनीको सेयरलाई ३३५ रुपैयाँ प्रिमियम थपेर सर्वसाधरणलाई जारी गर्नुपर्ने कारण के हो ? आईपीओ निष्कासन गर्दा नै परेको उजुरीलाई धितोपत्र बोर्डले किन बेवास्ता गर्यो ?’ 

स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष सुशीलकुमार लुनियाँले पनि घोराही सिमेन्टमा ठूलै चलखेल भएको आरोप लगाए। ‘स्वयं कम्पनीका कर्मचारीले नभरेको आईपीओ किन सर्वसाधरणलाई ३३५ रुपैयाँ प्रिमियम थप गरेर ल्याइयो ?’, प्रश्न गर्दै उनले भने, ‘अहिले धितोपत्र बोर्डले रोक्नको कारण के हो ? खातामा पैसै नभएका फर्जी लगानीकर्तालाई कसले कारबाही गर्ने ? सर्वसाधरणलाई फेस भ्यालुमै सेयर किन निष्कासन गर्न नसक्ने ?’

बिजुलीको पैसा नै तिर्न नसकेको कम्पनीलाई प्राथमिक बजारमा प्रिमियममा सेयर निस्कासन गर्नु भनेको ठूलै चलखेल नै रहेको लुनियाँले आशंका गरे।