काठमाण्डौ । फर्जी खरिद आवेदन दिएर व्यापाक चलखेल भएको पाइएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया स्थगित गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। 

गत सोमबार आईपीओ निष्कासन प्रक्रिया स्थगित सेबोनले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो। यद्यपि आज ४ दिन बितिसक्दा पनि अनुसन्धान प्रक्रिया कहाँसम्म पुग्यो भनेर सेबोनका अधिकारीहरु खुलेर बताउन चाहिरहेका छैनन्। 

यो आईपीओ ओभरसब्सक्राइब्ड भइसकेको अवस्थामा आवेदन दिने म्याद थपिएपछि शंकाको घेरामा परेको थियो। त्यसपछि यो आईपीओमा १२ जनाले १० लाख कित्ताका दरले फर्जी आवेदन दिएको खुलासा पनि भएको थियो। हाल ती १२ जनाको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पुगेको छ। 

घोराही सिमिन्टले ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले सर्वसाधारणले आईपीओ बिक्री खुला गरिएको थियो। 

गत सोमबार साँझसम्म ५ लाख ७८ हजार ४७३ आवेदनबाट १० अर्ब ४४ करोड ७७ लाख ९९ हजार ५५० रुपैयाँ अर्थात २ करोड ४० लाख १७ हजार ९३० कित्ताबराबरको आवेदन परेको थियो। जसमध्ये १ करोड ३६ लाख १५ हजार ५ सय ७० कित्ता अर्थात ५ अर्ब ९२ करोड २७ लाख ७२ हजार ९५० रुपैयाँबराबरको फर्जी आवेदन परेको छ। 

कुल आवेदनबाट फर्जी घटाउँदा पनि लगानीकर्ताको करिब ४ अर्ब ५२ करोड ५० लाख २६ हजार ६०० रुपैयाँ रकम बैंकमै ‘ब्लक’ भएको देखिएको छ। धितोपत्र बोर्डको अनुसन्धान प्रक्रिया कहिले पूरा हुने ?, यो आईपीओको निष्कासनले निरन्तरता पाउने वा नपाउने ? बैंकमा ब्लक भएको लगानीकर्ताको पैसा कहिले फुकुवा हुने ? भन्नेजस्ता प्रश्न आमलगानीकर्ताले उठाउन थालेका छन्। 

धितोपत्र बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटले घोराही सिमेन्टमाथि अनुसन्धान गर्न सुपरभिजन महाशाखाका प्रमुख दिपेश ताम्राकारको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको थियो। ‘समितिलाई यथाशक्य चाँडो छानबिन प्रक्रिया पूरा गरी प्रतिवेदन बुझाउन भनिएको छ’, उनले भने।

छानबिन समितिले प्रतिवेदन बुझाएपछि सोही आधारमा थप प्रक्रिया अगाडि बढ्ने देवकोटाले बताए। ‘आमलगानीकर्तालाई राहत हुने गरी सकभर छिटो अनुसन्धान प्रक्रिया सक्ने हिसाबले धितोपत्र बोर्ड लागिपरेको छ’, उनले भने।