काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले घोराही सिमेन्टमा परेको फर्जी आवेदनका सम्बन्धमा थप छानबिन गर्न नेपाल प्रहरीसमक्ष सिफारिस गर्ने भएको छ। 

धितोपत्र बोर्डले केही लगानीकर्ताहरुले बैंक खातामा पर्याप्त मात्रामा रकम नहुँदा नहुँदै सर्वसाधारण लगानीकर्तालाई भ्रमित पार्ने उद्देश्यले अस्वाभाविक रुपमा ठूलो कित्ता सेयर खरिद गर्न आवेदन दिएकोले थप छानबिन गर्न नेपाल प्रहरीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। फर्जी आवेदनका सम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ समितिको प्रतिवेदनका अनुसार धितोपत्र बोर्डले यो निर्णय गरेको हो। 

ती फर्जी आवेदकहरुको निष्कासनकर्ता कम्पनी र निष्कासन तथा बिक्री प्रबन्धकका सञ्चालक तथा कर्मचारीहरुसँग कुनै सम्बन्ध नेखिएको पनि धितोपत्र बोर्डले जनाएको छ। 

यसैगरी निष्कासन तथा बिक्री प्रबन्धकले मागभन्दा बढी कित्ता सेयर खरिदका लागि आवेदन परेको अवस्थामा समेत समयावधि थप गर्न सूचना प्रकाशत गरेकोमा समेत थप छानबिन गर्ने निर्णय धितोपत्र बोर्डले गरेको छ। 

धितोपत्र बोर्डले आस्वा सदस्य एनआईसी एसिया बैंकले आवेदकको खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेकोमा खाता पर्याप्त रकम नहुँदानहुँदै के–कसरी आवेदनहरु स्वीकृत भएको हो भन्ने सम्बन्धमा थप छानबिन गरी आवश्यक कारबाही अगाडि बढाउने निर्णय पनि गरेको छ।