काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समिति (बोर्ड)को बैठकले निकै विवादास्पद बनेको घोराही सिमेन्टको आईपीओ बिक्री खुला गर्ने निर्णय नगरेको खुलासा भएको छ। 

फर्जी आवेदनका कारण विवादमा फसेको घोराही सिमेन्टको आईपीओलाई स्थगन गरेको २ सातापछि सेबोनले फेरि निष्कासन प्रक्रिया खुला गरेको थियो। ‘सेबोन कार्यालयमा असार १९ गते राति ९ बजेसम्म चलेको बैठकमा अध्यक्ष रमेशकुमार हमाल र म्यानेजमेन्टका सीमित व्यक्तिको सहभागिता थियो’, सेबोन स्रोतले भन्यो, ‘बैठकमा बोर्ड (सञ्चालक समिति)का अन्य सदस्य सहभागी थिएनन्।’ 

ठूलै दबाब र चलखेलमा अध्यक्ष हमालले स्थगित घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया फुकुवा गरेको स्रोत बताउँछ। ‘सेबोनभित्रैकै केही उच्च अधिकारी पनि यो आईपीओलाई निष्कासन गर्न दिनुपर्छ भन्ने पक्षमा थिए’, स्रोत बताउँछ। 

घोराही सिमेन्टको आईपीओबारे अनुसन्धान गर्न गठित जाँचबुझ समितिको सिफारिसका आधारमा सेबोनले गरेको निर्णय आफैँमा विवादास्पद रहेको छ। १० लाख कित्ताका दरले फर्जी आवेदन दिएका १२ जना र आईपीओ जारी गर्ने कम्पनी (घोराही सिमेन्ट)का कर्मचारी र पदाधिकारीलाई चोख्याउने हिसाबले निर्णय भएको सेबोनकै एक उच्च अधिकारीले बताए। ‘ती फर्जी आवेदकहरुको निष्कासनकर्ता कम्पनी र निष्कासन तथा बिक्री प्रबन्धकका सञ्चालक तथा कर्मचारीहरुसँग कुनै सम्बन्ध नदेखिएको निर्णय गरिएको छ। यो निर्णयले चलखेलमा सहभागी सबैलाई राहात मिलेको छ’, ती अधिकारीले भने, ‘अर्कोतर्फ यो आईपीओका लागि सी–आस्बा प्रणालीमा दर्ता भएका आवेदकहरुको हकमा आवेदन गरेको सेयर कित्ता थपघट गर्न वा आवेदन दर्ता तथा खारेज गर्न सक्ने निर्णय भएको छ। यसले फर्जी आवेदन दिएकाहरुलाई आवेदन रद्द गर्ने वा कित्ता घटाउने मौका मिलेको छ।’ 

केही लगानीकर्ताहरुले बैंक खातामा पर्याप्त मात्रामा रकम नहुँदा नहुँदै सर्वसाधारण लगानीकर्तालाई भ्रमित पार्ने उद्देश्यले अस्वाभाविक रुपमा ठूलो कित्ता सेयर खरिद गर्न आवेदन दिएकोले थप छानबिन गर्न नेपाल प्रहरीसमक्ष सिफारिस गर्ने निर्णय भएको छ। ‘यसले पनि सेबोन आफू यो मुद्दाबाट पन्छिने र प्रहरी देखाउँदै अनुसन्धान प्रक्रिया लम्ब्याउने दाउमात्रै रहेको देखिन्छ’, ती अधिकारीले भने। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि यो आईपीओको उजुरी परेको र फर्जी आवेदकहरुको फाइल माग भएको अवस्थामा सेबोन अध्यक्ष हमालले निष्कासन प्रक्रिया फुकुवा गर्नु आफैँमा शंकास्पद रहेको स्रोत बताउँछ। ‘यसमा ठूलै चलखेल भएको हुन सक्छ’, स्रोतले भन्यो, ‘किनकि रातारात निर्णय गर्ने अनि भोलिपल्टै एन्टी मनी लाउन्ड्रिङसम्बन्धी कार्यक्रममा सहभागी हुन अध्यक्ष हमाल र प्रवक्ता मुक्तिनाथ श्रेष्ठ क्यानडाको भ्यानकुभर गएका छन्। यसले यो विवादास्पद आईपीओ निष्कासन प्रक्रिया फुकुवा गर्ने निर्णयविरुद्ध उठ्न आवाजबाट पन्छिन र दबाउन खोजिएको प्रस्ट हुन्छ।’

‘क्यानडाको कार्यक्रम पहिलेदेखि नै फिक्स्ड थियो तर पूर्वसन्ध्यामा यो विवादास्पद आईपीओ खुला गर्ने निर्णय गर्नुको पछाडि भने ठूलै चलखेल र दबाब रहेको देखिन्छ’, स्रोतले भन्यो। 

गत असार २२ गतेबाट पुनः खुला गरिएको घोराही सिमेन्टको आईपीओ निष्कासन बन्द आज असार २५ गते बैंकिङ समयपछि गरिँदैछ। ‘सेबोन अध्यक्ष र प्रवक्ता साउनको पहिलो सातामात्रै फर्किने कार्यक्रम रहेको छ’, सेबोनका एक अधिकारीले भने।

यो कम्पनीको आइपीओको मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ रहेको छ। १०० रुपैयाँ अंकित दरमा ३३५ रुपैयाँ प्रिमियम थप्न पाउने गरी यो कम्पनीलाई आइपीओ निष्कासनको स्वीकृति दिँदादेखि नै सेबोनको भूमिकामाथि प्रश्न उठ्दै आएको छ। तर, आफैंले बिना पर्याप्त आधार र कारण महँगो मूल्यमा आईपीओ निष्कासन गर्न दिएको विषयलाई छायाँमा पार्दै सेबोनले नाटकीय कदमहरु चालेको देखिन्छ। 

घोराही सिमेन्टले सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६७० कित्तामा आवेदन खुलाएको छ। आईपीओको प्रिमियमबाट कम्पनीले २ अर्ब बढी रकम संकलन गर्ने उद्देश्य राखेको देखिन्छ। 

हाल कुनै पनि कुराको जानकारी लिन स्वयं सेबोन अध्यक्ष वा प्रवक्तासँग कुरा गर्नुपर्ने अवस्था छ। अन्य कर्मचारी वा अधिकारीले सामान्य जानकारी दिनसमेत हिच्किचाउने गरेका छन्। अहिले सेबोन कार्यालयमा सुनसान अवस्था छ। कोही पनि घोराही सिमेन्टको आईपीओका विषयमा कुरा गर्न चाहँदैनन्।