काठमाण्डौ । बुटवल पावर कम्पनी लिमीटेडले निश्कासन गरेको एफपीओको बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले बुधबार बिहान एफपीओको बाँडफाँड गरेको हो । 

यो कम्पनीको एफपीओ बाँडफाँड हुँदै गर्दा माग गरेअनुसार कित्ता प्राप्त गर्ने लगानीकर्ताहरुको अनुहारमा चमक थिएन । कारण, एफपीओ प्राप्त गर्दै गर्दा सर्वसाधारण आवेदकले प्रतिकित्ता ३३ रुपैयाँको दरले घाटा खाएका छन् । सर्वसाधारणले मात्रै सुरुवातमै ८ करोड ४३ लाख बढी घाटा व्यहोरेका छन् । 

बुटवल पावर कम्पनी लिमीटेडको मंगलबार बजार बन्द हुँदासम्मको अन्तिम मूल्य प्रतिकित्ता ४ सय ६८ रुपैयाँ रहेको छ । यो कम्पनीले प्रतिकित्ता ५ सय १ रुपैयाँको दरले एफपीओ निश्कासन गरेको थियो ।

एफपीओ खरीदका लागि आवेदन दिनेमध्ये ८४ हजार ८ सय ४ जनाका लागि २८ लाख ५९ हजार कित्ता एफपीओ बाँडफाँड गरिएको छ । कुल निश्कासित ४० लाख ८१ हजार कित्तामध्ये बाँँकी रहेको १२ लाख २१ हजार कित्ता भने अण्डरराइट गर्ने कम्पनीहरुले सकारेका छन् । 

एफपीओ बाँडफाँड हुँदै गर्दा अण्डराइट गर्ने कम्पनीहरुले मात्रै ४ करोड बढी घाटा व्यहोर्नुपरेको छ । यो कम्पनीको एफपीओ अण्डरराइट गर्ने कम्पनीहरुमा एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, एनआइबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई समुन्नत स्किम १, नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेड, नवील ब्यालेन्स फण्ड १ र नवील इक्वीटी फण्ड रहेका छन् । लक्ष्मी क्यापिटल लिमीटेड एफपीओ निश्कासन तथा बिक्रीका लागि सहप्रबन्धकको भूमिकामा थियो ।

एफपीओका लागि आवेदन दिएकामध्ये ७५८ आवेदन रद्ध भएका थिए । यीमध्ये ५२ जनाले दोहोरो आवेदन दिएका देखिएको क्यापिटलले जनाएको छ ।

आवेदकहरुलाई न्यूनतम १० देखि अधिकतम २० हजार ४ सय कित्तासम्म बाँडफाँड गरिएको बताइएको छ । 

एफपीओपछि कम्पनीको चुक्तापूँजी २ अर्ब २१ करोड र रिजर्ब कोष १ अर्ब ५० करोडको उचाईमा पुुग्नेछ ।