काठमाण्डौ । सेयर बजारमा उछाल आउँदा लगानीकर्ताहरुको सम्पत्ति २ दिनमै १ खर्बभन्दा बढीले वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेञ्जको कुल बजार पूँजीकरण पनि नेप्से परिसूचकसँगै उछालको गतिमा बढ्न थालेको हो । 

साताको पहिलो कारोबार दिन आइतबार अघिल्लो कारोबार दिनको तुलनामा बजार पूँजीकरण बढेर ३१ खर्ब १९ अर्ब माथि पुगेको थियो । अघिल्लो कारोबार दिन भने ३० खर्ब ७६ अर्बमा सीमित थियो । 

सोमबार एकैदिन कुल बजार पूँजीकरण ५९ अर्ब रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । 

यो दिन बजारमा झण्डै ७ अर्बको सेयर कारोबार हुँदा त्यसको प्रभाव बजार पूँजीकरणमा समेत देखिएको हो । कारोबारपछि सोमबारको कुल बजार पूँजीकरण ३१ खर्ब ७८ अर्ब १६ करोडभन्दा बढी कायम भएको हो । 

यसरी हेर्दा आइतबार र सोमबार मात्रै सेयर बजारका लगानीकर्ताहरुको सम्पत्ति १ खर्ब २ अर्बले वृद्धि भएको छ । 

नेप्से परिसूचक पनि बढेर २०६० को विन्दूमा पुगेको छ । 

आइतबार र सोमबारको मात्र कुरा गर्ने हो भने नेप्से परिसूचक ६५.८९ अंकले बढेको छ ।