काठमाण्डौ । सेयर बजारमा लगानी गर्ने उपयुक्त समय अहिले नै रहेको भन्ने अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्तिपछि उछालको गतिमा कुदेको बजार पछिल्ला दुई कार्यदिन भने दोहोरो अंकसहित घटेको छ । 

गत साताको अन्तिम कारोबार दिन दुई दिनसम्ममा उछाल आएको बजार करेक्सन भएको थियो । यो क्रम आइतबार पनि जारी रह्यो । यो दिन बजारमा करेक्सनको निरन्तरता बाहेक केही संवेदनशील र जोखिमपूर्ण दृश्यहरु पनि देखिए । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत पहिरो गएको दृश्य बजारको दिगो बढोत्तरीका लागि ‘अशुभ संकेत’ हुनसक्छ । 

अर्थमन्त्रीको अभिव्यक्तिबाट एकाएक उछाल आएको बजार फेरि दैनिकजसो नै दोहोरो अंककै गतिमा किन घट्न थाल्यो होला त ? 

बजारका विज्ञ, जानकार तथा विश्लेषकहरुले बजारको उछाल यात्रामा ब्रेकर लागी गिरावटको यात्रा सुरु हुनु पछाडिका केही कारण प्रस्तुत गरेका छन् । 

बजारका जानकारहरुले अर्थमन्त्रीको अभिव्यक्तिले नै मात्र बजारको वृद्धि दिगो हुनसक्ने अवस्था थिएन, जसकारण नेप्से घट्नु स्वभाविक थियो, त्यही भयो । 

यस्तै, अर्थमन्त्रीको बजारप्रतिको सकारात्मक अभिव्यक्तिले आशाको सञ्चार भए पनि त्यसलगत्तै बजार घटाउने नियतले केही घटनाक्रम र खबरहरु बाहिर ल्याइए । जस्तो ः बैंकहरुका लगानीयोग्य रकमको पुनः अभाव सुरु भएको समाचार आयो । यस्तै, आइटीमा लगानी नगर्ने हो भने बैंकहरु बर्बाद हुन्छन् भन्ने आशयको गभर्नरको अभिव्यक्ति सम्बन्धी समाचारका पछाडि पनि कतिपय लगानीकर्ता दौडिए ।

अर्थमन्त्रीको एक बोलीकै कारण बढेको बजार त्यसपछि आएका केही आधारहीन खबर र सुनियोजित अभिव्यक्तिको पछाडि दौडिएका कारण पुनः गिरावटको भूंग्रोमा पर्न थालेको हो । 

अर्कोतर्फ, छिमेकी देश भारतमा त्यहाँको सरकारले सेयर बजारका लागि विशेष प्याकेज घोषणा गरेको छ । सो प्याकेजको प्रभावले त्यहाँको बजारमा ऐतिहासिक उछाल आएको छ। छिमेकमा करका दरहरु परिवर्तन भई राहातका प्याकेज आउँदा त्यसले नेपालको अर्थतन्त्रमा समेत प्रभाव पार्ने आँकलन गरिएको छ । योसँगै नेपालका लगानीकर्ताहरुले समेत यहाँका लागि समेत भारतमा जस्तै सरकारले राहात प्याकेज घोषणा गर्नुपर्ने माग गर्न थालेका छन् । 

कतिपय ठूला लगानीकर्ता भारतमा आएको प्याकेज झै यहाँ पनि केही न केही आउने आशामा पर्ख र हेरको रणनीतिमा समेत रहेका कतिपयको दाबी छ । यस्तो प्रतिक्षाका कारण पनि बजारको चमकमा केही नकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ । 

यिनै कारणहरुले आइतबार नेप्से परिसूचक १६.०५ अंकले घटेर ११३९.२५ को विन्दूमा सीमित हुन पुगेको छ । 

यो दिन राम्रा र बलिया कम्पनीका बिक्री चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स २.४९ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.२३ अंकको गिरावट आएको छ । 

अन्य समूहमा ०.६८ को झिनो बढोत्तरी भएको छ भने बाँकी सबै समूहको उपसूचकमा रातो पोतिएको छ । 

बैंकिङ समूह ११.३३ अंकले घटेको छ भने विकास बैंक समूह १८.१९ अंक, बित्त समूह ४.५१ अंक, जलविद्युत समूह २९.६ अंक, होटल समूह ६०.११ अंक, माइक्रोफाइनान्स समूह ३०.३२ अंक, जीवन बिमा समूह ८०.८८ अंक, निर्जीवन बिमा समूह १२४.२९ अंक, उत्पादन तथा प्रशोधन समूह ६७.६ अंक, म्युचुअल फण्ड समूह ०.०३ अंकले घटेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा  १६६ कम्पनीका ८ लाख ४८ हजार ६६२ कित्ता सेयर २२ करोड ६९ लाख ५० हजार २३८ रुपैयाँमा किनबेच भएको छ । 
सबैभन्दा बढी शिवम सिमेन्टले १ करोड ८० लाख बढीको कारोबार गरेको छ । 

गण्डकी विकास बैंकको १ करोड ६५ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको समेत १ करोड ४९ लाख बढीको संस्थापक सेयरको कारोबार भएको छ । 

नेपाल लाइफ इन्स्योरेन्सको १ करोड १ लाख बढीको साधारण सेयरको कारोबार भएको यो दिन लक्ष्मी बैंकले ७६ लाख, नेपाल बैंकले ६८ लाख, सिद्धार्थ बैंकले ६५ लाख, स्ट्याण्र्डर्ड चार्टर्ड बैंकले ६१ लाख, कृषि विकास बैंकले पनि ६१ लाख र नवील बैंकले ५८ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बेस्ट फाइनान्स कम्पनीका सेयरधनीले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ४.५५ प्रतिशतले बढ्यो ।

रिलायन्स फाइनान्स र जोशी हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाए । रिलायन्सको सेयर मूल्य ८.३३ र जोशीको सेयर मूल्य ८ प्रतिशतले घट्न पुग्यो ।