काठमाण्डौ । दिव्यश्वरी हाइड्रोपावर लिमीटेडले बैंकको ऋण तिर्ने उद्देश्यले आफ्ना सेयरधनीलाई सत्प्रतिशत हकप्रदको भारी बोकाउने भएको छ । 

कम्पनीको शुक्रबार अपरान्ह ३ः३० बजेको बसेको सञ्चालक समितिको बैठकले बैंकको ऋण तिर्नका लागि हाल कायम चुक्तापूँजीको १ः१ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने निर्णय गरेको हो । 

यो निर्णयको विषयमा विद्युत नियमन आयोगबाट स्वीकृति लिई आगामी साधारणसभामा पेश गर्ने समेत निर्णय भएको अध्यक्ष दधिराम निरौलाले जनाएका छन् । 

हाल यो कम्पनीको चुक्तापूँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । हकप्रदपछि बढेर ५२ करोड ८० लाखको उचाईमा पुग्नेछ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनी झण्डै २६ करोडले घाटामा गएको छ । इपीएस ०.१९ रुपैयाँले ऋणात्मक छ । 

यो कम्पनीबाट सञ्चालित आयोजनाको आम्दानी र तरलतामा गत वर्ष भन्दा यसपटक कम भएको देखिन्छ । 

उच्च ब्याजदरमा ठूलो ऋण लिँदा यो कम्पनीमाथि साँवा ब्याजको व्ययभार बढ्न गएका कारण साँवा तथा ब्याज पनि नियमित गर्न सकेको छैन । ब्याजदर घटाउन सञ्चालक समिति पहल गर्दा समेत केही उपाय नलागेपछि ऋण तिर्नैका लागि हकप्रद बिक्री गर्न लागेको हो । 

यो कम्पनीको टाउकोमाथि साढे ५ करोड हाराहारीमा सर्टटर्म लोन तथा  ५७ करोड २१ लाख रुपैयाँभन्दा बढी लङटर्म लोन रहेको छ ।