काठमाण्डौ । चर्को आलोचनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप १३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको छ। 

सेबोनले हिजो एक सूचना जारी गर्दै २४ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको जानकारी गराएको थियो। तर, आस्वा सदस्यता लिने बैंकको संख्या ४०–४२ वटाको हाराहारीमा रहेको छ। तीमध्ये २४ वटाको मात्रै आस्वा सदस्यता नवीकरण गरेपछि सेबोनको चर्को आलोचना भएको थियो। 

कम्पनीहरुको धमाधम आईपीओ र हकप्रद सेयर खुलिरहेको समस्यामा सेबोनले आर्थिक वर्ष २०८०–८१का लागि २४ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरिएको जानकारी गराएका थिए। तर, अन्य करिब आधा दर्जन बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण नगरेपछि ती संस्थामा खाता खोलेकाहरुले आज दिनभर सार्वजनिक निष्कासनमा आवेदन दिन पाएनन्। 

आज साँझसम्म थप १३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरिएको सेबोन स्रोतले बतायो। ‘यीसँगै कुल ३७ वटाको आस्वा सदस्यता नवीकरण भएको छ’, स्रोतले भन्यो, ‘बाँकी रहेको ४–५ वटाको पनि छिट्टै नवीकरण हुन्छ।’

असारभित्रै नवीकरणका लागि आवेदन दिएर शुल्क बुझाएकाहरुको सदस्यता नवीकरण गरिएको सेबोनका एक अधिकारीले बताए। ‘खासमा नयाँ आर्थिक वर्ष सुरु हुनुभन्दा १ महिना अगाडि नै आस्वा सदस्यता नवीकरण गर्न निवेदन पेस गर्नुपर्ने व्यवस्था छ’, ती अधिकारीले भने, ‘त्यसैले १ महिना अगाडि नै नवीकरण गर्न निवेदन दिएका २४ वटा बैंक तथा वित्तीय संस्थाको नवीकरण गरिएको थियो। बाँकी १३ वटा असार मसान्तभित्र नवीकरणका लागि निवेदन दिएका करण प्रचलित व्यवस्थाअनुसार नवीकरण गर्न नसकिएको हो।’

खासमा ती १३ वटाले म्याद सकिएपछि नवीकरणका लागि निवेदन दिएको ती अधिकारीले बताए। ‘उनीहरुले नवीकरण हुँदैन थियो, उनीहरुले फेरि नयाँ निवेदन दिएर सदस्यता लिनुपथ्र्यो’, ती अधिकारीले भने, ‘तर, चौतर्फी आलोचनापछि सेबोनले बाध्य भएर ती बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको हो।’

लगानीकर्ताको हितलाई ध्यानमा राखेर ती बैंक तथा वित्तीय संस्थाको सदस्यता नवीकरण गरिएको ती अधिकारीले दाबी गरे। 

स्रोतका अनुसार सदस्यता नवीकरण नभएपछि ती बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु आज सेबोन पुगेका थिए। ‘आस्वा सदस्यता नवीकरणका लागि ल्याइएको नियम र व्यवस्थालाई लिएर सेबोनका अधिकारी र बैंकका प्रतिनिधिहरुबीच केहीबेर चर्काचर्की पनि भएको थियो’, स्रोतले भन्यो, ‘तर, बाहिर मिडियामा सेबोनको गैरजिम्मेवारपनजस्तो देखिएकोले बाध्य भएर ती बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरिएको छ।’

सेबोनले थप १३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरे पनि यसबारे आमलगानीकर्तालाई जानकारी दिने उद्देश्यले सूचना भने जारी गरेको छैन। यसले गर्दा कुन–कुन बैंक तथा वित्तीय संस्थाको सदस्यता नवीकरण भएको हो भन्ने विषयमा लगानीकर्ताबीच अझै अन्यौलता नै रहेको छ।