काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले चारवटा कम्पनीलाई ३७ लाख ३२ हजार ९ सय ६१ कित्ता हकप्रद सेयर निश्कासनको अनुमति दिएको छ ।
बोर्डले कसमस डेभलपमेन्ट बैंकलाई १ः१(१०० प्रतिशत), अल्पाइन डेभलपमेन्ट बैंकलाई ३ः२.०८(६९.४९ प्रतिशत), सूर्य लाइफ इन्स्योरेन्सलाई ४ः१(२५ प्रतिशत) र यूनाइटेड फाइनान्सलाई ४ः१(२५ प्रतिशत) हकप्रद निश्कासनको अनुमति दिएको हो ।
कसमस डेभलपमेन्ट बैंकले १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ३ हजार १ सय २५ कित्ता हकप्रद जारी गर्ने अनुमति भएको छ । सिभिल क्यापिटल मार्केट लिमीटेड कसमसको हकप्रद बिक्री प्रबन्धक रहेको छ । यो बैंकले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ९३ लाख ३० हजार खूद नाफा कमाएको थियो । यो बैंकको चुक्तापूँजी ५ करोड ३ लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद निश्कासनपछि बैंकको चुक्तापूँजी १० करोड ६ लाख रुपैयाँ पुग्ने बताइएको छ ।
नेपालको एक मात्र क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले कसमसको हकप्रद सेयरलाई ग्रेड ४ को रेटिङ प्रदान गरेको छ ।
यसैगरी, अल्पाइन डेभलपमेन्ट बैंक लिमीटेडले बोर्डबाट ८ लाख २० हजार कित्ता हकप्रद निश्कासनको अनुमति पाएको हो । एनएमबी क्यापिटल लिमीटेड बिक्री प्रबन्धक रहेको छ । यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा २ करोड ४१ लाख खूद नाफा आर्जन गरेको थियो । यो बैंकको चुक्तापूँजी ११ करोड ८० लाख रुपैयाँ रहेको छ । ६९.४९ प्रतिशत हकप्रद निश्कासनपछि अल्पाइनको चुक्तापूँजी १९ करोड ९९ लाख पुग्ने छ । इक्रा नेपालले यसको हकप्रदलाई सबैभन्दा कमजोर ग्रेड अर्थात ग्रेड ५ को रेटिङ प्रदान गरेको छ ।
त्यसैगरी, धितोपत्र बोर्डको अनुमति पाएपछि सूर्य लाइफ इन्स्योरेन्सले १२ लाख ५० हजार कित्ता हकप्रद निश्कासन गर्नेछ । लक्ष्मी क्यापिटल मार्केट लिमीटेड बिक्री प्रबन्धक छ । यो कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ७९ लाख ९ हजार खूद नाफा आर्जन गरेको थियो । यो कम्पनीको चुक्तापूँजी ५० करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत हकप्रद निश्कासनपछि यो कम्पनीको चुक्तापूँजी ६२ करोड ५ लाख पुग्नेछ । यो कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड ४ को रेटिङ प्रदान गरेको छ ।
यसैगरी, यूनाइटेड फाइनान्सले ११ लाख ५९ हजार ८ सय ३६ कित्ता हकप्रद सेयर निश्कासनको अनुमति पाएको हो । नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेड बिक्री प्रबन्धक रहेको छ । यो संस्थाले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३ करोड ३३ लाख खूद नाफा आर्जन गरेको थियो । यो कम्पनीको चुक्तापूँजी २३ करोड ८६ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत हकप्रद जारी गरेपछि चुक्तापूँजी २९ करोड ८२ लाख पुग्नेछ ।
हकप्रद जारी गर्ने अनुमति पाएका सबै कम्पनीका बिक्री प्रबन्धकहरुले असार मसान्तसम्ममा हकप्रदका लागि सेयरधनीहरुलाई आवेदन गर्न आग्रह गर्ने बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago