काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/ ०८१ को चार महिनामा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ ।

गत वर्ष सोही अवधिमा ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरिएको थियो । उक्त अवधिमा आयात ३.७९ प्रतिशतले घटेको छ । 
भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवको उक्त अवधिसम्ममा ५४ अर्ब ७७ करोड रुपैयाँको वस्तु निर्यात हुँदा चालू आवको सोही अवधिमा ५० अर्ब ५६ करोड रुपैयाँको वस्तु निर्यात भएको  तथ्यांक छ । निर्यात भने ७.६८ प्रतिशतले घटेको छ ।

चालू आवको चार महिनामा व्यापार घाटा ४ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३४ प्रतिशतले कम हो । गत आवको पहिलो चार महिनामा व्यापार घाटा ४ खर्ब ७७ अर्ब ९१ करोड रुपैयाँ थियो ।आयात निर्यात दुवै घटेकाले बढ्दै गएको व्यापार घाटा भने कम भएको छ।
चालू आवको उक्त महिनामा नेपालबाट सबैभन्दा बढी गलैंचा र अन्य कपडा भूईं कभरिङ, ऊन वा जनावरको कपाल, गाँठो निर्यात भएको छ। ३ अर्ब रुपैयाँ बराबरका यस्ता समान निर्यात भएको छ।

दोस्रोमा रोल्ड आइरन/स्टिल २ अर्ब ३७ करोड रुपैयाँको निर्यात भएको विभागले उल्लेख गरेको छ।

विभागको तथ्यांकमा उल्लेख भए अनुसार सबैभन्दा बढी व्यापार घाटा भारतसँग  छ। कात्तिकसम्म २ खर्ब ८१ अर्ब रुपैयाँ व्यापार घाटा छ। त्यसैगरी, दोस्रोमा चीनसँग ९९ अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा छ ।