काठमाण्डौ । चिलिमे जलविद्युत् कम्पनीले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

संस्थाको आज सोमबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार ७८२.४० रुपैयाँको २० प्रतिशतले हुना आउने ९५ करोड १६ लाख २७ हजार १५६.४८ रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने २३ करोड ७९ लाख ६ हजार ७८९.१२ रुपैयाँबराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।

यसैबीच संस्थाले आफ्नो २३ औँ वार्षिक साधारणसभा मंसिर ११ गते गर्ने निर्णय पनि गरेको छ ।

साधारणसभा र लाभांश वितरणका लागि संस्थाले कात्तिक २७ गतेदेखि मंसिर ११ गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको कात्तिक २६ गतेसम्म संस्थाको सेयरधनी कायम हुनेहरुमात्र लाभांश पाउन र साधारणसभा भाग लिन योग्य हुनेछन् ।