काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७९-८० को नाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

कम्पनीले लाभांश वितरणको प्रस्तावसहित आगामी पुस २० गते आफ्नो २७ औं वार्षिक साधारणसभा पनि आह्वान गरेको छ । 

कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको ४२३ औं बोर्ड बैठकले पुस २० गते बिहान ११ बजे भृकुटीमण्डपस्थित राष्टिय सभा गृहमा आफ्नो साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो।

साधारणसभामा २०७९-८० को असार मसान्तको चुक्तापुँजीको ५ प्रतिशतले हुन आउने नगद लाभांश(करसहित) र १० प्रतिशतले हुन आउने बोनस सेयर वितरणको अजेण्डा प्रस्तुत हुनेछ । 

सञ्चालक समितिको सोही आर्थिक वर्षको प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, सोही अवधिको वासलात, नाफा नोक्सान हिसाब, नगदप्रवाह विवरण र इक्वीटीमा भएको परिवर्तन लगायतका अजेण्डा समेत सभाले पारित गर्नेछ । 

कम्पनीको प्रबन्धपत्र र नियमावली संसोधन गर्ने, सञ्चालक समितिमा रहने २ स्वतन्त्र सञ्चालकहरुको नियुक्ति वा निर्वाचित हुने विषयमा समेत ठोस निर्णय हुने बताइएको छ । 

साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते एकदिनका लागि बुक क्लोज गर्नेछ । यसको अर्थ कम्पनीबाट घोषित लाभांश प्राप्त गर्न तथा सेयरधनीको रुपमा साधारणसभा सहभागी बन्नका लागि पुस ७ गतेभित्र सेयरधनी कायम भइसक्नुपर्नेछ ।