काठमाण्डौ । नेप्से सूचकांकको वृद्धिले साताको कारोबारको तेस्रो दिन मंगलबारसमेत साथ दिएको छ । लगानीकर्ताहरुमा बढ्दै गइरहेको आत्मबल र सस्ता सेयरहरुमा लगानीकर्ताहरुले खरिद चाप बढाउँदा नेप्से सूचकांकको बढोत्तरीले निरन्तरता पाइरहेको छ । यतिमात्र हैन, चिसिँदै गरेको मौसममा सबै उपसमूहका सेयरहरुमा लगानीकर्ताहरुले खरिदचाप तताउँदै लगेका छन् ।

बजारको बढाइसँगै कारोबार रकमले पनि साथ दिइरहेको धितोपत्र दोस्रो बजारमा लगानीकर्ताहरुमा नेप्से बढ्ने आशा पलाएसँगै लगानीकर्ताहरुले सूचीकृत कम्पनीहरुमा लगानी थप्दै गइरहेका हुन् । नेप्से सूचकांकको अनुशासित बढाइ र कारोबार रकममा समेत शतप्रतिशत बढाइले लगानीकर्ताहरुको मनोबल बढाइरहेका छन् । निकै समयदेखि प्यानिक रहेका लगानीकर्ताहरुलाई सेयरमूल्य बढ्दा  चिसिएको मौसममा लगानीकर्ताहरुले अझ सेयरमूल्य बढ्ने न्यानो आशा र लोभ बढदै गएको पाइयो ।

साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से सूचकांक हिजोको तुलनामा २.४८ अंकको वृद्धिसँगै ११ सय ५१ दशमलव ३६ अंकले वृद्धि भयो भने सेन्सेटिभ इन्डेक्स ०.३३ अंकको बढोत्तरी हुँदै २५३.५० अंक कायम भयो । नेप्सेमा आज सूचीकृत १७० कम्पनीका १६ लाख ५३ हजार ४९० कित्ता सेयर बराबर ४९ करोड ८४ लाख ९८ हजार ७४१ रुपैयाँ रकम बराबरको कारोबार सम्पन्न भएको हो ।

यो दिन जलविधुत्,निर्जिवन बीमा,उत्पादन तथा प्रशोधन र अन्य उपसमूहबाहेक सबै उपसमूहमा हरियो पोतियो ।

सबैभन्दा बढी कारोबार हुने कम्पनी

आजको दिन उत्कृष्ट कारोबार गर्न ४ वटा वाणिज्य बैंक र १ लघुवित्तले उच्च कारोबार गरेकोमा माछापुच्छ्रे बैंकको मात्र ७ करोड ५३ लाख रुपैयाँ हाराहारी कारोबार भयो भने बाँकी एनएमबी बैंक,कृषि विकास बैंक,डिप्रोक्स डेभलपमेन्ट बैंक र नेपाल बैंकले क्रमशः ३ करोड ८५ लाख ,२ करोड ७९ लाख ,१ करोड ३७ लाख र १ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार गरे ।

सबैभन्दा धेरै कमाउने कम्पनी

नयाँ नेपाल लघुवित्तका सेयरधनीहरुले आज सबैभन्दा बढी कमाउन सफल बने । जसको सेयरमूल्य आज ९.९१ प्रतिशतसम्म बढ्यो । सो लघुवित्तले जारी गर्ने १ः१ हकप्रदसँगै बूक क्लोजको सूचनाका कारण सेयरमूल्यमा करिब सर्किट लागेको हो । यस्तै यही दिन सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्यमा ९.७६ प्रतिशतसम्मले वृद्धि हुँदा सपोर्टका सेयरधनीहरु मालामाल भए ।

सबैभन्दा धेरै गुमाउने कम्पनी

आज मंगलबारका दिन अरुण काबेली पावर लिमिटेडको सेयरमूल्यमा ४.०९ प्रतिशतले गिरावट आउँदा सो कम्पनीका सेयरधनीहरुले सबैभन्दा धेरै गुमाउन पुगे ।