काठमाण्डौ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदान हुने दिन विनापास सवारीसाधन चलाउन नपाइने भएको छ।
निर्वाचन आयोगका अनुसार चुनावका दिन विनापास सवारीसाधन चलाउन पाइने छैन। कामविशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रुपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ।
आयोगका अनुसार एम्बुलेन्स, खानेपानीको ट्यांकर, दमकल, दूरसञ्चार शेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवाजस्ता अत्याश्यक सेवा र कूटनीतिक नियोगको सवारी साधनले अनुमतिपत्र लिनुपर्दैन।
आयोगले शारीरिक अपांगता भएका व्यक्तिहरुलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने गरी मापदण्ड तय गरेको छ। शारीरिक अपांगता भएका व्यक्तिहरुका लागि सम्बन्धित स्थानका मुख्य निर्वाचन अधिकृतले सवारीपास दिनुपर्नेछ। अनुमति पाएको सवारी पासमा त्यस्ता व्यक्तिबाहेक एकाघरको अर्का एकजना साथीले मतदान केन्द्रसम्म जान आउन पाउने व्यवस्था छ।
यसैगरी अन्तर्राष्ट्रिय हवाई उडानका माध्यमबाट यात्रा गर्ने यात्रुले पासपोर्ट, भिसा र हवाई टिकटका माध्यमबाट विमानस्थलसम्म र विमानस्थलदेखि बासस्थानसम्म आवागमन गर्न दिने भएको छ।
अन्य सवारीसाधनलाई पनि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमति दिने गरी अधिकार दिइएको छ।
काठमाण्डौ उपत्यकामा सूचना विभागको कार्डका आधारमा पत्रकारलाई प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र जारी गर्नेछ।
मतदानका दिन दैनिक उपभोगका वस्तु बोक्ने तथा अत्यावश्यक सवारीसाधनका लागि अनुमति लिनु नपर्ने आयोगले जनाएको छ। निर्वाचनलाई मध्यनजर गर्दै भारत र चीनसँग जोडिएका सीमा नाका वैशाख २७ गते राति १२ बजेदेखि ३ दिन बन्द गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19