– अनन्त्य सुन्दर

काठमाण्डौ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले वैशाखमा ३० मा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ। यसअघि निर्वाचन जेठ ४ मा हुने भनिएको थियो। केही दिनदेखि चुनावको प्रत्यक्ष प्रभाव सेयर बजारमा भएको देखिन्छ।

अधिकांश लगानीकर्ता लगानी निर्णय गर्न चुनावको खबर पर्खिएर बसेको ब्रोकर सञ्चालकहरु बताउँछन्। ‘चुनावको हल्लाले सेयर बढ्ने आशासहित हाम्रोबाट कारोबार गर्ने धेरै लगानीकर्ताले सेयर किनेर होल्ड गरेका छन्’, एक ब्रोकर सञ्चालक भन्छन्, ‘आज सरकारले चुनावको मिति तय गरेसँगै यसको सकारात्मक र प्रत्यक्ष प्रभाव सेयर बजारमा हुने देखिन्छ।’ 

‘चुनाव हुने हल्लाले नै बजार ३५००–४००० हुने, भोलिदेखि सेयर नै किन्न नसकिने वातावरण नहुने भन्ने चाही हुँदैन तर केही दिनदेखि रुमलिएको सेयर बजारमा सकारात्मक प्रभाव अवश्य हुनेछ’, ती सञ्चालकले भने। 

‘तथ्यांक विभागले चुनाव हुँदा ७ प्रतिशत आर्थिक वृद्धि हुने भनेको छ’, अर्का एक ब्रोकर सञ्चालक भन्छन्, ‘चुनाव हुने र नहुने भन्ने नै अन्यौलमा थियो। डेमोक्रेसी नै खतरामा थियो। तर, अब चुनावको मिति घोषणा भएसँगै लगानीकर्ताहरुले ढुक्क साथ लगानी गर्ने वातावरण बनेको छ। त्यसैले चुनावको मिति घोषणाले बजारमा सकारात्मक प्रभाव पर्छ।’

‘तरलताको अवस्था यो बेला विगतमा पनि यस्तो नै हुने गरेको थियो। तरलता सहजीकरणको लागि अर्थ मन्त्रालय र राष्ट्र बैंकले निरन्तर प्रयास गरिरहेका छन्’, ती सञ्चालकले भने, ‘त्यसैले अब चुनावको मिति घोषणा भएसँगै लगानी गर्ने वातावरण सिर्जना भएको छ।’ 

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली चुनावको मिति घोषणा भए पनि आजभोलि नै यसको प्रभाव ठूलो नपर्ने बताउँछन्। तर, चुनावको मिति घोषणाले बजारमा सकारात्मक असर भने अवश्य हुने उनले बताए। ‘चुनावमा समग्र अर्थतन्त्र चलायमान हुनुका साथै आर्थिक गतिविधि बढ्ने गरेको छ’, उनले भने, ‘सरकारले चुनावका लागि गाउँ–गाउमा छुटाएको पैसा पनि बैंकिङ प्रणालीमा साथै सेयर बजारमा आउने भएकाले बजारमा सकारात्मक प्रभाव पर्छ।’ 

त्यसका साथै १ लाखजना नागरिक म्यादी प्रहरीमा भर्ना भई रोजगार पाउने भएकाले पनि आर्थिक गतिविधि बढ्ने मैनालीले बताए। ‘विगतको चुनावमा भन्दा यस पटक केही फरक हुन्छ’, मैनाली भन्छन्, ‘अघिल्लो चुनावमा सक्रिय लगानीकर्ताको संख्या १ लाख थियो। तर, अहिले अनलाइनबाट कारोबार गर्नेहरुको संख्या नै १०–१२ लाख पुगेको अवस्था छ। त्यसैले चुनाव खर्चका लागि गाउँ–गाउँमा गएको बजेट निष्क्रिय बस्ने भन्दा बैंकिङ प्रणाली र बजारमा आउने देखिन्छ।’

अहिले डिम्याट हुनेको संख्या झन्डै ५० लाख पुगेको अवस्था छ। जसमध्ये ३०–३५ लाख लगानीकर्ता मतदाता रहेको देखिन्छ। मैनाली भन्छन्, ‘अधिकांश मतदाताहरु सेयर बजारमा सक्रिय भएकाले यस पटक चुनावमा स्थानीय जनप्रतिनिधि साथै नेताहरुले बोल्ने भाषा र अवलम्बन गर्ने नीति बजारमैत्री हुन्छ। फलस्वरूप प्रत्यक्ष प्रभाव बजारमा हुने देखिन्छ।’