काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपाल भ्रमणमा रहेको रुसी महासंघको व्यवसायिक प्रतिनिधि बीच भेटवार्ता भएको छ ।

काठमाण्डौको जमलस्थित चेम्बर अफ कमर्सको भवनमा भएको भेटवार्तामा दुई मुलुकबीच संयुक्त लगानी एवं व्यापारिक साझेदारी गर्नेबारे छलफल भएको हो । रुसी महासंघको प्रतिनिधी मण्डलसंग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले काठमाण्डौ र मस्कोबीच सीधा हवाई सम्पर्क स्थापित गर्नका लागि पहल गर्नुपर्नेमा जोड दिए । 

अध्यक्ष मल्लले नेपाल रुसबीचको कूटनीतिक सम्बन्ध बलियो रहेको भन्दै सयौं नेपाली विद्यार्थीहरु इन्जिनियरिङ, चिकित्सालगायतका विषय अध्ययनका लागि जाने गरेको र रुसका तर्फबाट पनि वार्षिक १० हजारको हाराहारीमा नागरिकहरु नेपाल घुम्न आउने गरेको सन्र्दभमा सीधा हवाई सम्पर्क सञ्जाल बढाउन सकेमा दुवै मलुकलाई फाईदा पुग्ने बताए । 

काठमाण्डौसँगै पोखरा अन्तराष्ट्रिय विमानस्थल र भैरहवा अन्तरराष्ट्रिय विमानस्थल पनि सञ्चालनका क्रममा रहेकाले दुई मुलुकबीच सीधा हवाई सम्पर्क सञ्जाल विस्तार गरेर आर्थिक सहकार्य  र व्यापारिक साझेदारी गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

उनले नेपालको कृषि, पर्यटन, उद्योग, एवं आईटी क्षेत्रमा लगानीको उच्च सम्भावना रहेको बताए ।सोही अवसरमा रुसी महासंघको व्यवसायिक प्रतिनिधि मण्डलले पनि नेपालमा सीधा हवाई सम्पर्क सञ्जाल विस्तारका लागि आफुहरुले पहल गर्ने बताएका थिए ।

हवाई सम्पर्क स्थापित गर्नका लागि दुबै देशका सरकारसमक्ष संयुक्त पहल गर्नुपर्ने रुसी महासंघका प्रमुख एलेक्जेण्डर एल रेवासले बताए । दुई मुलुकबीच अन्य व्यापारिक क्षेत्रमा पनि सहकार्य गर्न सकिने उनको भनाइ छ । 
चेम्बर पदाधिकारीसँगको भेटवार्तामा रुसी महासंघको टोलीले नेपालमा उत्पादन हुने चिया र यसको विश्वबजार बारे चासो राखेका थिए ।