काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले चैत १५ गतेभित्रै मन्त्रीमण्डल पुनर्गठनको तयारी गरेका छन् । 

कार्यसम्पादनमा कमजोर देखिएका केही मन्त्रीहरु हेरफेर र रिक्त रहेका मन्त्रालयमा समेत नयाँ नियुक्ति गर्ने गरी प्रम देउवाले मन्त्रीपरिषद पुनर्गठनको तयारी गरेका हुन् । 

यो क्रममा अर्थतन्त्र नबुझेका अर्थमन्त्री जनार्दन शर्मालाई विदा दिने प्रवल संभावना रहेको छ । 

प्रधानमन्त्रीनिकट उच्च स्रोतकाअनुसार अर्थमन्त्रीको रुपमा शर्मा आएपछि देशको अर्थतन्त्र झनै डामाडोल बनेको र उनले अर्थतन्त्र नबुझ्दा तथा उनको एकाङ्की कार्यशैलीका कारण अवस्था बिग्रिएकोमा देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग खुलेरै असन्तुष्टि व्यक्त गरिसकेका छन् । उनले कांग्रेसको भागमा परेको कुनै महत्वपूर्ण मन्त्रालय दिएर भए पनि अर्थमन्त्रालय आफ्नो दलले लिने विषयमा प्रचण्डसँग छलफल गरिरहेका प्रमको निजी सचिवालयका एक सदस्यले जानकारी दिए । 

'संभवत अर्थमन्त्री फेरिनुहुनेछ ।' ती सदस्यले बिजशालासँग भने-'शर्मालाई अर्थमन्त्रीको रुपमा निरन्तरता दिंदा मुलुकको अर्थव्यवस्था थप जर्जर हुनेमा प्रम र प्रचण्ड नै कन्भिन्स हुनुहुन्छ ।' 

कांग्रेसले हाँकिरहेको परराष्ट्रमन्त्रालय माओवादीलाई दिएरै भए पनि अर्थतन्त्र बुझेको व्यक्तिलाई अर्थमन्त्री बनाउनुपर्ने लविङ दलमा समेत तीव्र बनिरहेको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए । उनका अनुसार माओवादीका शर्मालाई अर्थतन्त्रको बागडोर सम्हाल्ने जिम्मेवारी निरन्तर गरिए अर्थतन्त्र झनै डामाडोल बन्नेछ र यसको सबैभन्दा ठूलो मूल्य कांग्रेसले चुकाउनुपर्नेछ । 

यदि शर्मा फिर्ता हुन सहमत भएमा अर्थमन्त्रीको रुपमा ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल वा डा. नारायण खड्काको इन्ट्री हुनसक्नेछ।

पार्टीभित्रको सन्तुलन मिलाउन डा. रिजाल अर्थमन्त्रीको रुपमा उदाउनसक्ने संभावना समेत रहेको स्रोत दाबी गर्छ । डा. रिजालले एमालेले सरकारको नेतृत्व गर्दा कांग्रेसले गठन गरेको छायाँ सरकारका अर्थमन्त्रीको रुपमा काम गरेका थिए । 

अरु को-को फेरिँदैछन् ?
प्रधानमन्त्री निकट स्रोतहरुकाअनुसार चैत १५ गतेदेखि निर्वाचन आचारसंहिता लाग्ने भएकोले अन्य केही मन्त्रीहरु समेत हेरफेर गर्ने तयारी भइरहेको छ । 

रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा देउवाले पार्टीभित्र सन्तुलन मिलाउने हिसाबले नयाँ अनुहारहरुलाई मन्त्री बनाउने तयारी गरेका छन् । यसका लागि उनले प्रकाशमान सिंह लगायतका नेतासँग छलफल गरिरहेका छन् । 

यस्तै, नेकपा एसबाट मन्त्री बनेकाहरु सबैलाई फिर्ता बोलाइनेछ । सो दलभित्र आलोपालो मन्त्री हुने सहमति भएका कारण अहिले मन्त्री बनेका सबै फिर्ता बोलाएर अवसर नपाएकाहरुलाई नियुक्त गरिनेछ । जीवनराम श्रेष्ठ, मेटमणि चौधरी लगायतका अनुहारहरु नयाँ मन्त्रीको रुपमा यो दलबाट सरकारमा सामेल हुनेछन् । 

जनता समाजवादी पार्टीबाट समेत केही मन्त्रीहरु हेरफेर हुनसक्ने संभावना रहेको छ ।