काठमाण्डौ । नियामक निकायको सेटिङगमा आईपीओ निस्कासन गर्न दिएको भन्दै निकै ठूलो विवादमा परेको हिमालयन रि- इन्स्योरेन्सको आईपीओमा आबेदन दिने क्रम निरन्तर बढेको छ  । 

कम्पनीले प्रिमियम दरमा गत सोमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निश्कासन गरेको हो । कुल ३० लाख कित्ता आईपीओको बिक्री खुल्ला गरिएकोमा बिहीबारसम्ममा  १३ हजार २९१ जना आवेदकले ११ लाख ६१ हजार ८१० कित्ता खरिदका लागि आवेदन दिएका छन् । 

सिडीएसीकाअनुसार चौथो दिन बिहीबार साँझ ५ बजेसम्ममा २२ करोड ९३ लाख बढीको खरिद आवेदन परेको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी कुल प्रतिकित्ता २०६ रुपैयाँका दरले साधारण सेयरको निश्कासन खुलाएको हो । पहिलो चरणमा खुलाइएको निश्कासनमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मात्र आवेदन दिन पाउने छन् । 

धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँमा प्रिमियम समेत थप प्रतिकित्ता २०६ रुपैयाँले गणना गर्दा कुल ६ अर्ब १८ करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याएको छ ।

सोमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि छुट्याइएको हो । 

विदेशमा काम गर्ने नेपालीहरुले यो कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । आईपीओ खरीदका लागि मंसिर १८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । 

यो कम्पनीलाई धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सेटिङमा प्रिमियममा आईपीओ निश्कासन गर्न दिइएको विषय निकै विवादास्पद छ । कम्पनीको अवस्था खासै सन्तोषजनक नभए पनि यसका प्रमोटरहरुलाई सर्वसाधारणबाट पैसा संकलन गर्ने अवसर प्रदान गर्न अध्यक्ष हमालले गडबडीपूर्ण ढंगले स्वार्थप्रेरित निर्णय गरेको विषयमा विवाद हुँदै आएको छ । 

यो कम्पनीको आईपीओ रोक्न केही समयअघि संघीय संसदको अर्थसमितिले निर्देशन दिए पनि पछि पुनः सेटिङ मिलाइएपछि निश्कासन गरिएको हो । 

कम्पनीले प्रकाशन गरेको विवरणपत्र अनुसार यसको २०८० असार मसान्तसम्मको अपरिस्कृत विवरणअनुसार प्रतिसेयर नेटवर्थ ११०.९२ रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ६.३२ रुपैयाँ मात्र छ भने सो अवधिसम्म ४४ करोड २४ लाख रुपैयाँ मात्रै नाफा छ । 

कम्पनीले आर्थिक वर्ष २०८०–८१ मा प्रतिसेयर नेटवर्थ १४९.७१ रुपैयाँ, ईपीएस १०.२६ रुपैयाँ र नाफा १ अर्ब रुपैयाँ बढी हुने प्रक्षेपण गरेको छ ।

यस्तै, आर्थिक वर्ष २०८१–८२ प्रतिसेयर नेटवर्थ १६५.२३ रुपैयाँ, इपीएस १५.५२ रुपैयाँ र नाफा १ अर्ब ५५ करोड तथा आव ०८२–८३ मा प्रतिसेयर नेटवर्थ १८८.०९ रुपैयाँ, इपीएस २२.८६ रुपैयाँ र नाफा २ अर्ब २८ करोड हुने प्रक्षेपण गरिएको छ ।