काठमाण्डौ । आर्दश लघुवित्त वित्तीय संस्थाको सेयर शुक्रबारबाट कारोबार खुलेको छ। 

यो लघुवित्तको आईपीओ गत सोमबार नेप्सेमा सूचीकृत भएको थियो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, लगातार ३ दिन यो लघुवित्तको सेयर प्रि–ओपन सेसनमा नेप्सेले तोकेको रेन्जमा किनबेच नहुँदा नियमित समयका लागि कारोबारमा आउन सकेको थिएन। 

यो लघुवित्तलाई नेप्सेले ‘एडीएलबी’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि न्यूनतम १२२.८८ रुपैयाँदेखि अधिकतममा ३६८.६४ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको थियो।

आज स्पेसल प्रि–ओपन सेसनमो यो लघुवित्तको सेयर प्रतिकित्ता २५६.८० रुपैयाँमा किनबेच भएको छ। जुन नेप्सेले तोकेको रेन्जभित्र पर्छ। अब यो लघुवित्तको सेयर नियमित समयका लागि खुल्नेछ।

नेप्सेमा आदर्श लघुवित्तको कुल २ लाख ७ हजार कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १ लाख ४० हजार कित्ता र सर्वसाधारणको ६७ हजार कित्ता रहेको छ। 

आदर्श लघुवित्तले गत असार १ गतेदेखि असार ५ गतेसम्म आईपीओ बिक्री गरेको छ। यो आईपीओको बाँडफाँड असार १३ गते भएको थियो।