काठमाण्डौ । चालु आर्थिक वर्षको बजेट निर्माणका विषयमा पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि गरिएको छानबिनको प्रतिवेदन संसदीय विशेष समितिले आज सभामुख अग्नि सापकोटालाई बुझाएको छ।

पूर्वअर्थमन्त्री शर्मामाथि बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दरमा हेरफेर गरेको आरोप लागेको थियो। उक्त विषय सम्बन्धमा छानबिन गर्न प्रतिनिधिसभाबाट गत असार २२ गते गठित विशेष समितिले तयार पारेको प्रतिवेदनको निष्कर्ष करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निकालेको छ। छानबिनको प्रतिवेदनको निष्कर्षसँगै शर्माको अर्थ मन्त्रालयमा फर्किने सम्भावना उच्च भएको छ।  

प्रतिवेदनमा ‘समितिले गरेको अर्थ मन्त्रालयको पदाधिकारी, अर्थमन्त्रीबाट प्राप्त गरेको कागजात, सीसीटीभी फुटेजलगायतको प्रमाणका आधारमा करका दर निर्धारणमा अनधिकृत प्रवेश नदेखिको’ भनिएको छ। प्रतिवेदनमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको विषयपछि अनधिकृत व्यक्तिको प्रभावको प्रसंग सान्दर्भिक नरहेको उल्लेख छ।

छानबिन समितिले क्लिन चिट दिएसँगै शर्मा अर्थ मन्त्रालय फर्किने सम्भावना प्रबल भएको छ। अर्थमन्त्री शर्माले असार २२ मा अर्थमन्त्रीबाट राजीनामा दिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले नै अर्थ मन्त्रालय समाल्दै आएका छन्।

राजीनामा दिएको झन्डै एक महिना बित्दा पनि देउवा आफैँले नै अर्थ मन्त्रालय समालेकाले उनको पनि अर्थ मन्त्रालयको जिम्मेवारी शर्मालाई नै दिने मनसाय रहेको बुझिन्छ।