काठमाण्डौ । लगानीकर्ताहरु सचेत हुँदै गएका कारण उनीहरुले छानी–छानी लगानी गर्न थालेपछि मंगलबार पूँजीबजारमा मिश्रित परिणाम देखियो । सेयर कारोबारको हिसाब र सबैभन्दा धेरै सम्पत्ति बढाउने कोणबाट विश्लेषण गर्दा मंगलबार समग्रमा अरु भन्दा लघुबित्त र बित्त कम्पनी केही सुविधाजनक अवस्थामा देखिए । समूह सूचक घटे पनि केही बिमा कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढ्ने संकेत देखिएको छ भने वाणिज्य बैंक समूहमा सुधार भएको छ । उत्पादनमूलक र अन्य समूहमा पनि मंगलबार सुधार देखिएको छ । 

समूह सूचकतर्फ सबैभन्दा धेरै उत्पादनमूलकमा २३.१२ अंकको बढोत्तरी देखियो । अन्य समूह ५.८७ अंकसहित उक्लदा जलविद्युत समूह पनि ५.१ अंकले उकालो लाग्यो । बाँकी सबै समूहमा रातो पोतिँदा मंगलबार नेप्से परिसूचक ३.८ अंकले घटी १७१३.०३ मा आइपुगेको छ । 

सबैभन्दा धेरै बिमा समूह नै ओरालो लागेको छ । यो समूहको परिसूचक ७५.५१ अंक झर्यो भने विकास बैंक १६.६४ अंकले तल ओर्लियो । बित्त समूह ६.८५, होटल ३.८३ अंकले ओरालो लाग्दा वाणिज्य बैंक समूहको सूचकमा ०.२२ अंकको मात्र गिरावट दर्ज भयो । 

मंगलबार सेन्सेटिभ र फ्लोट इण्डेक्स क्रमशः १.१७ र ०.२३ अंकले घटे ।

सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि घटेको छ । कुल १ सय ३९ कम्पनीका १९ लाख ५ हजार ४ सय १ कित्ता सेयर १ अर्ब २९ करोड ६८ लाख ८१ हजार ९ सय ४० रुपैयाँमा किनबेच भयो । 

धेरै रकमको सेयर कारोबार गर्नेहरु
मंगलबार सबैभन्दा धेरै राष्ट्रिय बिमा कम्पनी लिमीटेडको ६ करोड ६१ लाख बराबरको प्रोमोटर सेयर किनबेच भयो । यस्तै, एभरेष्ट बैंकले ४ करोड ९४ लाख, रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टर लि.ले ४ करोड ८३ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले ४ करोड १८ लाखको कारोबार गरे । नबील बैंकको ४ करोड १७ लाखको प्रोमोटर सेयर किनबेच हुँदा फस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडले ४ करोड १६ लाखको कारोबार गर्यो । यस्तै, नेपाल ग्रामीण विकास बैंक लिमीटेडको ३ करोड ८७ लाखको सेयर किनबेच भयो भने सानिमा बैंकले ३ करोड २८ लाखको कारोबार गर्यो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३ करोड २८ लाख र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले ३ करोड २१ लाखको सेयर कारोबार गरे । 

 सेयर कारोबारको हिसाब र सबैभन्दा धेरै सम्पत्ति बढाउने कोणबाट विश्लेषण गर्दा मंगलबार समग्रमा अरु भन्दा लघुबित्त र बित्त कम्पनी केही सुविधाजनक अवस्थामा देखिए ।

धेरै कमाउनेहरु
मंगलबार केही उत्पादनमूलक र बढी माइक्रो फाइनान्स तथा फाइनान्स कम्पनीले आफ्नो सम्पत्तिमा राम्रो वृद्धि गरेका छन् । १० कम्पनीहरुले ६ देखि १० प्रतिशतको दरले आफ्नो मूल्य बढाएका छन् । धेरै कमाउने कम्पनीहरुमा बोटलर्स नेपाल लिमीटेड, अल्पाइन डेभलपमेन्ट बैंक लिमीटेड, साझा विकास बैंक लिमीटेड, नमस्ते बित्तीय संस्था लिमीटेड, सिनर्जी फाइनान्स लिमीटेड, टुरिजम डेभलपमेन्ट बैंक लिमीटेड, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लि., सेती फाइनान्स लिमीटेड, सगरमाथा फाइनान्स लिमीटेड र यूनिक फाइनान्स लिमीटेड रहेका छन् । 

धेरै गुमाउने
मंगलबार धेरै गुमाउने कम्पनीको सूचिमा केही बिमा र धेरै लघुबित्त कम्पनीहरु नै परे । धेरै गुमाउनेहरुमा  सगरमाथा इन्स्योरेन्स कम्पनी  लि., कालिका माइक्रो क्रेडिट डेभलपेन्ट बैंक लि., रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टर लि., निर्धन उत्थान बैंक लिमीटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेड लगायत छन् ।