काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ‘नेप्से–५०’ इन्डेक्स सञ्चालनमा ल्याउन गृहकार्य सुरु गरेको छ। 

विश्व बजारको अभ्यासलाई नेपालमा पनि लागू गर्न नेप्सेले ‘नेप्से–५०’ इन्डेक्स सञ्चालनका लागि गृहकार्य अगाडि बढाएको हो। 

हाल भारतको ‘निफ्टी–५०’ र अमेरिकाको ‘एसएन्डपी ५००’लाई यस किसिमको इन्डेक्सका लागि उदाहरणका रुपमा लिन सकिन्छ। 

नेपालको सेयर बजारमा ‘नेप्से–५०’ इन्डेक्स सञ्चालनमा ल्याउन उचित हुने वा नहुने विषयमा नेप्से सञ्चालक समितिको केही दिनअघि बसेको बैठकमा छलफल भएको थियो। ‘बैठकमा ‘नेप्से–५०’ सम्बन्धी कार्यविधि पेस भइसकेको छ’, बैठकमा सहभागी एक सञ्चालकले भने, ‘अब थप अध्ययन र अनुसन्धान गरी के–कसरी नेप्से–५० सञ्चालन गर्ने र कस्ता–कस्ता कम्पनीहरु नेप्से–५० मा राख्न उचित हुन्छ भन्ने विषय टुङ्गिनेछ।’

‘नेप्से–५० सञ्चालनमा ल्याउन सेयर बजारका विज्ञ, सरोकारवाला निकाय र नियमनकारी निकायसँग अब तीव्र गतिमा छलफल हुने पनि ती सञ्चालकले बताए। 

केही महिनाअघिबाटै नेप्सेमा ‘नेप्से–५०’ सञ्चालनमा ल्याउन व्यापक छलफल भइरहेको थियो। ‘नेप्से–५०’ सञ्चालनमा ल्याउने विषयमा थप अध्ययन तथा अनुसन्धान गर्न नेप्सेले कृष्ण गिरीलाई ६ महिनाका लागि विज्ञका रुपमा नियुक्त पनि गरेको छ। ‘गिरीलाई गत असोजबाटै नेप्सेले नियुक्त गरेको हो’, नेप्से स्रोत भन्छ–‘उनी दैनिकजसो नेप्से कार्यालयमै आएर नेप्से–५० इन्डेक्सको प्रारुप तयार गर्न लागिपरेका छन्।’

नेप्से स्रोतका अनुसार ‘नेप्से–५०’को कार्यविधि बनेर नेप्सेको सञ्चालक समितिमा पेस गरिएको छ। ‘सञ्चालक समितिको बैठकले अगाडि बढाउने निर्णय गरेको खण्डमा पुस २९ नेप्सेको वार्षिक साधारणसभामा लन्च गर्ने कि भन्ने छ तर कार्यविधि स्वीकृत हुनै बाँकी रहेकोले फिस्क्ड हुन सकेको छैन’, स्रोतले भन्यो। 

‘नेप्से–५०’मा फ्लोट साइज हाई कम्पनीहरु समावेश हुने नेप्सेका एक उच्च अधिकारीले बताए। ‘१४ वटा सेक्टर बनाएका छौँ, प्रत्येक सेक्टरबाट कम्तीमा १–१ वटा कम्पनी र बाँकी ३६ वटा कम्पनी समावेश गर्ने सोचमा छौँ’, ती अधिकारीले भने, ‘म्युचुअल फन्ड, कर्पोरेट डिबेन्चर र प्रमोटर सेयर यसमा समावेश हुने छैनन्। लार्ज स्केलका कम्पनीमात्र पर्न सक्छन्।’ 

‘नेप्से–५०’लाई आगामी बेन्चमार्क इन्डेक्सका रुपमा अगाडि बढाइएको ती अधिकारीले बताए। ‘यसको नाम अर्को पनि हुन सक्छ’, उनले भने, ‘अगामी दिनमा इन्डेक्स फन्डदेखि इन्डेक्स डेरिभेटिभ यो अन्डरलाइन इन्स्ट्रुमेन्ट हुनसक्छ।’

नेप्सेजस्तै ‘नेप्से–५०’ को छुट्टै कारोबार हुने पनि ती अधिकारीले बताए।

नेप्सेका प्रवक्ता मराहरी पराजुलीले ‘नेप्से–५०’का विषयमा एकपटक सञ्चालक समितिमा छलफल भएको बताए। ‘यो छलफलकै चरणमा छ’, उनले भने, ‘नेप्सेको बोर्ड बैठक र राष्ट्र बैंकले स्वीकृति दिएको खण्डमा ‘नेप्से–५०’को प्रक्रिया अगाडि बढ्नसक्छ।’