काठमाण्डौ । नियामक निकायको सेटिङ र  निकै ठूलो विवादमा परेको हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा छैटौं दिनसम्ममा  करिब ५० प्रतिशतभन्दा बढीको आबेदन परेको छ । 

यो कम्पनीले प्रिमियम दरमा गत सोमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निश्कासन गरेको हो ।कुल ३० लाख कित्ता आईपीओको बिक्री खुल्ला गरिएकोमा छैटौं  दिन आइतबारसम्ममा  १७ हजार ६८५ जना आवेदकले  १५ लाख ६३ हजार १९०  कित्ता खरिदका लागि आवेदन दिएका छन् । 

सिडीएसीका अनुसार आबेदन खुलेको  आइतबार साँझ ५ बजेसम्ममा  ३२ करोड २० लाख बढीको खरीद आवेदन परेको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी कुल प्रतिकित्ता २०६ रुपैयाँका दरले साधारण सेयरको निश्कासन खुलाएको हो । 

पहिलो चरणमा खुलाइएको निश्कासनमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मात्र आवेदन दिन पाउनेछन् । 

धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीले कुल जारी पूँजी रु। १० अर्बको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँमा प्रिमियम समेत थप प्रतिकित्ता २०६ रुपैयाँले गणना गर्दा कुल ६ अर्ब १८ करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याएको छ ।

सोमध्ये १० प्रतिशत अर्थात ३० लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि छुट्याइएको हो । 

विदेशमा काम गर्ने नेपालीहरुले यो कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । आईपीओ खरीदका लागि मंसिर १८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । 

यो कम्पनीलाई धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सेटिङमा प्रिमियममा आईपीओ निश्कासन गर्न दिइएको विषय निकै विवादास्पद छ ।कम्पनीको अवस्था खासै सन्तोषजनक नभए पनि यसका प्रमोटरहरुलाई सर्वसाधारणबाट पैसा संकलन गर्ने अवसर प्रदान गर्न अध्यक्ष हमालले गडबडीपूर्ण ढंगले स्वार्थप्रेरित निर्णय गरेको विषयमा विवाद हुँदै आएको छ ।