काठमाण्डौ । जगदम्बा स्टिलले आईपीओ निष्कासनका लागि गरेको प्रस्तावलाई स्वीकृती प्रदान नगर्न नेपाल धितोपत्र बोर्डमा निवेदन परेको छ ।

उद्योग प्रभावित क्षेत्र जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर १ र २ ले नेपाल धितोपत्र बोर्डलाई छुट्टा–छुट्टै पत्र लेख्दै कम्पनीको प्रिमियम मूल्यको सेयर निष्कासन रोक्का गर्न आग्रह गर्दै निवेदन दिएका हुन् । 

कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत असोज १७ गते नेपाल धितोपत्रमा आवेदन दिएको थियो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यमा थप २०० रुपैयाँ प्रिमियम थपेर ३०० रुपैयाँमा सेयर बिक्री गर्ने प्रस्ताव गरेको छ । 

निवेदनमा अतिप्रभावित उपमहानगरपालिकाका वडा नम्बर १ र २ का बासिन्दाहरुलाई समेत अन्य सरह प्रिमियम मूल्यमा सेयर बिक्री गर्न लागिकोमा आपत्ति जनाइएको छ । 

जगदम्बा स्टिलको भट्टीबाट निस्कने धुवाँधुलोबाट दुवै वडाका बालबालिका, वृद्धवृद्धामा क्षयरोग, टीभी, क्यान्सर, दमजस्ता दीर्घ रोगहरुबाट पीडित बनाएको निवेदनमा उल्लेख छ  ।

प्रभावित सोही क्षेत्रका बासिन्दाले उद्योगबाट कुनै लाभ नपाएको बरु आईपीओमा समेत अन्यसरह प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि समेत प्रिमियम चार्ज गरेर उद्योगले अत्याचार गर्न लागेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।

वडाका स्थानियहरु उद्योगबाट अति प्रभावित भएकाले कुनै अतिरिक्त प्रिमियम नलिई सम्पूर्ण सेयर आरक्षित गराई वडा नम्बर १ र २ का स्थानियका लागि प्रतिकित्ता १०० मा आईपीओ निष्कासनको व्यवस्था गराउन आग्रह गरिएको छ । 
दुवै वडाका स्थानियलाई अति प्रभावित क्षेत्र घोषणा गर्न समेत आग्रह गरिएको छ ।  

जितपुरासिमरा उपमहानगरपालिका वडा नम्बर १ र २ का कार्यवाहक अध्यक्षहरुले उक्त व्यहोरोका पत्र जगदम्बा स्टिल लिमिटेड सिमरा र कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटललाई समेत बोधार्थ पठाएका छन् ।

कम्पनीमा शंकर ग्रूपको लगानी छ ।

*यसअघि प्रकाशित समाचार र तस्बिरमा जगदम्बा स्टिल हुनु पर्नेमा अन्यथा पर्न गएकाले सच्याइएको छ । -सं