काठमाण्डौ । धितोपत्र बोर्डले जनसेवी लघुवित्त वित्तीय संस्था लिमीटेडलाई ४ करोड ६३ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासनको अनुमति दिएको छ । 

यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरका ४ लाख ६३ हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासनको अनुमति दिएको हो । 

कम्पनीले भदौ २६ गते आइपीओ निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको थियो । 

कम्पनीले निकट भविष्यमै आइपीओ निश्कासन गर्नेछ ।

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमीटेड रहेको छ । 

पर्वतमा मुख्य कार्यालय रहेको यो लघुवित्त कम्पनीको जारी पूँजी १४ करोड ४३ लाख रुपैयाँ रहेको छ । जसमध्ये ९ करोड ८० लाख संस्थापकले हालेका छन् भने आइपीओमार्फत ४ करोड ६३ लाख उठाउने योजना छ, जुन सर्वसाधारण सेयरको रुपमा रहनेछ ।

आइपीओपछि कम्पनीको चुक्तापूँजी १४ करोड ४३ लाखको उचाईमा पुग्नेछ ।

यो माइक्रोफाइनान्स कम्पनीले २१ वटा शाखा बिस्तार गरी पर्वत, बाग्लुङ, म्याग्दी, रुकुम, रोल्पा लगायतका १० जिल्लामा बित्तीय सेवा प्रवाह गरिरहेको छ । 

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई आइपीओ ग्रेड फोरको रेटिंग दिएको छ, जसको अर्थ औसत भन्दा कमजोर छ भन्ने हो ।