काठमाण्डौ । जनसेवी लघुवित्त वित्तीय संस्था लिमीटेडले आगामी बैशाख २७ गतेदेखि ४ करोड ६३ लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणका लागि निश्कासन गर्ने भएको छ । 

रु. १०० अंकित दरका कुल ४ लाख ६३ हजार कित्ता आइपीओ खरीदका लागि छिटोमा बैशाख ३१ गतेभित्र र सो अवधिसम्म बिक्री नभए ढिलोमा जेठ २६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

कम्पनीको आइपीओमा न्यूनतम १० देखि अधिकतम १००० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । 

माइक्रोफाइनान्स कम्पनीको आइपीओमा अचाक्ली आवेदन पर्ने भएकोले १० कित्ताका लागि आवेदन दिनु नै बुद्धिमानी हुन्छ । 

कम्पनीले निश्कासन गर्ने कुल आइपीओमध्ये ७ हजार १४५ कित्ता सो कम्पनीका कर्मचारीका लागि, २३ हजार १६५ कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको ४ लाख ३२ हजार ९९० सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

धितोपत्र बोर्डले यो लघुवित्त वित्तीय संस्था लिमीटेडलाई ९ दिनअघि आइपीओ निश्कासनको अनुमति दिएको थियो ।

कम्पनीले भदौ २६ गते आइपीओ निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको थियो । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमीटेड रहेको छ । 

पर्वतमा मुख्य कार्यालय रहेको यो लघुवित्त कम्पनीको जारी पूँजी १४ करोड ४३ लाख रुपैयाँ रहेको छ । जसमध्ये ९ करोड ८० लाख संस्थापकले हालेका छन् भने आइपीओमार्फत ४ करोड ६३ लाख उठाउने योजना छ, जुन सर्वसाधारण सेयरको रुपमा रहनेछ ।

आइपीओपछि कम्पनीको चुक्तापूँजी १४ करोड ४३ लाखको उचाईमा पुग्नेछ।

यो माइक्रोफाइनान्स कम्पनीले २१ वटा शाखा बिस्तार गरी पर्वत, बाग्लुङ, म्याग्दी, रुकुम, रोल्पा लगायतका १० जिल्लामा बित्तीय सेवा प्रवाह गरिरहेको छ । 

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई आइपीओ ग्रेड फोरको रेटिंग दिएको छ, जसको अर्थ औसत भन्दा कमजोर छ भन्ने हो ।