– अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको हिजो २९ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजारमा नकारात्मक प्रभाव पार्ने कुनै पनि काम नगर्न, नगराउन र बजारमा अनियमिता पनि हुन नदिन निर्देशन दिए। सभा सम्पन्न भएको केही घन्टा बित्न नपाउँदै धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत गराउन ‘सेयर कर्नरिङ तथा सर्कुलर ट्रेडिङ भएको गुनासो आएको’ भन्दै विज्ञप्ति जारी गर्यो।
धितोपत्र बोर्डको विज्ञप्तिले सेयर बजारमा एक किसिमको तरंग पनि ल्याएको छ। केहीले धितोपत्र बोर्ड आफैँ बजार घटाउन लागिपरेको आरोप लगाएका छन्। केहीले बजार नियामकले आँखा चिम्लेर बस्न नमिल्ने भन्दै बजारमा बेला–बेला लगानीकर्तालाई सचेत गराउनु उचित रहेको तर्क पेस गरेका छन्। केहीले ‘यो गर्नैैपर्ने भए पनि धितोपत्र बोर्डले गोप्य रुपमा गर्नुपथ्र्यो, नांग्लो ठटाएर हात्ती तर्साउनमात्रै खोजियो’ भनी आलोचना पनि गरेका छन्।
सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला धितोपत्र बोर्डको खुलेआम विज्ञप्तिबाजीले बजारमा ठूला उम्कने र साना लगानीकर्ता फस्ने सम्भावना बढेको बताउँछन्। ‘कुनै घरमा चोर पसेको छ भने गोप्य रुपमा गएर समात्ने कि हामी आउँदैछौँ भनेर ढोल पिटेर जाने ? यो त चोरलाई भाग भनेजस्तो भएन र भन्या ?’, उनले प्रतिप्रश्न गरे।
सेयर बजारमा सर्कुलर टेड्रिङ तथा सेयर कर्नरिङ अवश्य भइरहेको उल्लेख गर्दै बास्तोलाले भने, ‘यो संसारमै हुन्छ। तर नियामकले गोप्य र सूक्ष्म रुपमा छानबिन गरेर नतिजा सार्वजनिक गर्नुपर्छ नि। यसरी खुलेआम अध्ययन भइरहेको छ भनेर भन्न त अलि मिल्दैन कि !’
बास्तोलाले धितोपत्र बोर्डले कुन उद्देश्यले हिजोको विज्ञप्ति निकाल्यो भनेर आशंका उब्जिएको बताए। ‘अजोडलाई के कारबाही भयो ?’, उदाहरण दिँदै उनले भने, ‘भारतमा सेबीले अम्बानीलाई १२ अर्ब क्षतिपूर्ति तिराएर कारबाही गर्यो, त्यो क्षमता नेपालका नियामक निकायले राख्छन् ?’
लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल धितोपत्र बोर्डको पछिल्लो विज्ञप्ति ठिक हो कि बेठिक हो भन्नुभन्दा पनि सेयर बजारमा लगानी गर्ने विषय नितान्त लगानीकर्तामै निर्भर हुने बताउँछन्। ‘बजारमा आधारभूत हिसाबले धेरै राम्रा कम्पनी हुँदाहुँदै नेगेटिभ नेटवर्थ र ईपीएस ऋणात्मक भएका कमजोर वित्तीय अवस्थाका कम्पनीमा उचालिएर लगानी गर्नु स्वयं लगानीकर्ताको दोष हो। यहाँ नियामक निकाय र मिडियाको भूमिका गौण हुन्छ।’
ढकालले नेपालमा धितोपत्र बजारका नियामक निकायको नियमन निकै फितलो रहेको बताए। ‘त्यसैले यहाँ लगानीकर्ता आफैँ सचेत हुनु अत्यन्त जरुरी छ’, उनले भने, ‘संसारभरकै सेयर बजारमा कर्नरिङ हुने हुँदा लगानीकर्ता नै सचेत हुनुपर्छ।’
धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले हिजो विज्ञप्ति साना लगानीकर्तालाई सचेत गराउन जारी गरिएको बताए। ‘हामीले पटकपटक लगानीकर्तालाई सचेत गराउँदै आएका छौँ, त्यसैको निरन्तरता हो हिजोको विज्ञप्ति पनि’, उनले भने, ‘हामीले पटक–पटक कम्पनीका आधारभूत पक्ष हेरेरमात्र लगानी गर्न लगानीकर्तालाई सल्लाह दिँदै आएका छौँ।’
अहिलेको बढ्दो बजारमा सेयर कर्नरिङ तथा सर्कुलर ट्रेडिङ भएका गुनासो आएपछि बोर्डले फेरि लगानीकर्तालाई सचेत गराउन विज्ञप्ति निकालेको ढुंगानाले स्पष्ट पारे। ‘यी विषयमा अध्ययन टोली बनाएका छौँ, नजिकबाट बजारको गतिविधि पनि हेरिरहेका छौँ’, उनले भने, ‘बोर्डले योभन्दा पनि कडा कदम उठाउन सक्छ, अनियमित र बर्जित काममा संलग्नमाथि अवश्य कारबाही हुन्छ।’
अध्यक्ष ढुंगानाले कतिपय अवस्थामा नेप्सेको कार्यक्षमता सोचेजस्तो नहुँदा चाहेजस्तो कामकारबाही अगाडि बढाउन नसकिएको बताए। उनले भने, ‘अब अर्को नेप्सेको विकल्प छैन।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago