-भक्तराज रसाइली
काठमाण्डौ । धितोपत्र कारोबारहरुको मध्यस्थकर्ताका रुपमा ब्रोकर कम्पनी हाँकिरहेका एक सरल र मुदुभाषी व्यक्तित्व हुन् अनन्त पौडेल । 

जोकोहीसँग  मुस्कुराउँदै विनम्रतापूर्वक बोल्ने  ब्रोकर नम्बर  ४९ अनलाइन सेक्युरिटीज  प्रा.लि.का एमडी पौडेलले विगत धेरै वर्षदेखि कारोबारका आधारमा सर्वोत्कृष्ट ब्रोकरको छवि बनाएका छन् ।  

राजधानी काठमाण्डौमा छिरेर कम उमेरमै एक सफल र प्रेरणादायी युवाको दृष्टान्त बनेका छन् । 

उनै पौडेलले गत साल भदौमा आफ्नी ममतामयी आमा गुमाए । अरुसँग मुस्कुराउँदै बोल्ने उनै अनन्तसँग जब आमाको कुरा गर्छ कसैले, त्यसपछि उनको हँसिलो अनुहारमा बादल मडारिन्छ र आँखामा आसू छचल्किन थाल्छ ।

पौडेलकी आमा चम्पादेवीको ६४ वर्षको उमेरमा निधन भयो । पौडेल परिवारमा  चारजना दाजुभाइ ३ जना दिदीबहिनी रहेका छन् । अनन्त माहिला पुत्र हुन् ।

हालसम्मे वंशजमै नदेखिएको क्यान्सर रोगबाट प्रताडित उनकी आमालाई अकस्मात क्यान्सरको थर्ड स्टेज भए मात्र थाहा भयो ।  

क्यान्सर उपचार गराउँदागराउँदै आमाको काखबाट बञ्चित हुँदा आफूलाई टुहुरो भएको महसुस हुने पौडेल बताउँछन् ।

यस धर्तीमा पाइला टेकाउने आमा नै हुन् भन्दै उनले भने–‘टुहुरो महसुस भएकैले अलिक गाह्रो हुन्छ ।’

दुःख भएको बेला आमाको नाम पुकार्ने चलन रहिआएको नेपाली समाजमा आमा गुमाउनु जत्तिको ठूलो पीडा अरु केही नहुने उनले महसुस गरेका छन् । आफूलाई  यो  ठाउँमा   ल्याउन  आमाको ठूलो  योगदान भएको सम्झँदै पौडेलले समयमा रोग थाहा पाएको भए बचाउन सकिन्थ्यो कि भने थकथकी जीवनभर बाँकी रहने बताए । 

घरको कमाण्ड सम्हाल्ने पौडेलले दशैं तिहार चाडबाड सँगै मनाएका क्षणहरुले आफूलाई जीवनभर चिमोट्ने बताउँछन् । 

‘आमाले बिरामी हुँदा अस्पताल पुर्याएका पलहरुले त अझ धेरै चिमोट्छ।’उनले भने–‘आफू बाबा भएपछि झन् आमाको महत्व थाहा हुँदो रहेछ । त्यति धेरै सन्तान कसरी सम्हाल्नुभएको होला भन्ने लाग्छ ।’

‘पुस्तामा कसैलाई पनि हालसम्म नभएको क्यान्सर भएको थाहा पाउँदा धेर्रै भावूक भएको थिएँ।’उनले भने–‘मेरा जुम्ल्याहा छोरी हुँदा हामी आमाछोराले धेरै खुशी सँगै बाँडेका थियौं ।’ 

आफू क्लास फस्ट वा स्कुलमा फस्ट हुँदा धेरै खुशी भएको मुखाकृति आमाको देख्दा आफूलाई भाग्यमानी ठान्थे । सबैभन्दा दुःखी चाहिँ एसएलसी सकाएर राजधानी आउने बखत भएको उनले सम्झे । काठमाण्डौ आउने बेलामा आमाले चिन्ता गरेको सम्झना अझै आइरहने उनी बताउँछन् ।
आफ्नी आमामा सबै सन्तानलाई मिलाएर लैजाने विशेष खुबी रहेको उनी सम्झन्छन् ।

आमाबाट आफूले जीवनमन्त्रको रुपमा इमानदार बन्नुपर्ने र मिहिनेतका साथ काम गर्नुपर्ने, पढ्नुपर्ने भन्ने कुरा सिकेको उनले बताए । 

अघि बढ्नका लागि धार्मिक राजनीतिक दख्खल हन जरुरी रहेको भनी आमाबाटै बुझेका ण्उनले आमामा असल नेतामा हुनुपर्ने गुण सबै भएको भन्दै प्रशंसा समेत गरे । ‘सायद हामी घरानिया व्यापारी भएको भए सफल हुन्थ्यौं होला।’ उनले थपे ।

आमाको सबैभन्दा सर्वोत्कृष्ट गुण भनेकै जस्तोसुकै पीडामा पनि ट्याकल गर्नसक्ने रहेको उनी सम्झन्छन् । ‘विचलित नभई अनवरत रुपमा संघर्ष गर्न उहाँबाटै सिकेँ ।’उनले भने–‘आमाको गुण छोराछोरीमा सर्छ भन्छन् । कर्मठ र लगनशील अनवरत संघर्ष गर्न मैले आमाबाटै सिकेँको कुरा हो । दुखमा नआत्तिने र सुखमा नमात्तिने भनाई मलाई आजपनि निकै सान्दर्भिक लाग्छ।’  

आमालाई  पृथ्वी ठान्ने पौडेलका अनुसार सबै छोराछोरीलाई समान माया र जीविकोपार्जन गर्नसक्ने बनाउने र  बाटो देखाउने काम गर्दा आमालाई भगवानको स्थान दिन चाहेको बताए ।

‘आमा त धर्ती माता हुन् । भगवानभन्दा ठूलो कोही छ भने त्यो आमा नै हो ।’ उनले भने–‘अनन्त संसारलाई चिनाउने नाम दिनुभयो। म जुनिभर ऋणि रहनेछु ।’

खाना खाने बेला आफूलाई आमाको सधैं याद आउने गरेको बताउँदै उनकी आमाले बिहान सबेरै महाभारत र रामायणको श्लोक भन्दा घर नै पवित्र भएको महसुस हुने विगत पनि सम्झिए ।

आफूले गरिरहेको कामबाट आमा जिवित छँदा सन्तुष्ट भएको र माहिला छोरा भए पनि जेठो छोराको भूमिका खेलेकोमा आमा दंग भएको समेत सम्झिए ।

‘बुढेसकालमा आमाबुबालाई तीर्थयात्रा जान मन लाग्छ । त्यसैले मैले ३–४ ठाउँ लैजान सफल त भएँ, तर अरु  १–२ ठाउँ टाढाको तीर्थयाात्रा गराउन नसकेकोमा मिस भइरहेको छ।’ उनले भावविह्वल भएर सुनाए ।

पढ्ने छोराले केही गर्ने आशा पाल्दै गाउँमा आमाले खेतीकिसान र घरपरिवार सम्हाल्दै सबै सन्तानलाई हुर्काउन सफल भएको उनको बुझाई छ । 
आमाले दिएका शिक्षा आफ्नो जीवनको मार्ग दर्शन बनेको उल्लेख गर्दै पौडेलले भने–‘मेरी आमा म जागिरे बनोस् भन्ने चाहनुहुन्थ्यो, तर म जागिरे हुँदै व्यापारी नै बनेँ । आमा खुशी नै हुनुहुन्थ्यो ।’

आमासँगका स्मरणहरु सुनाउँदै गर्दा उनको आँखा आसुले टिलपिलाएका प्रष्टै देखिन्थ्यो । आफूलाई आमाले कहिलेकाही नवराज भनेर पनि बोलाउने गरेको उनले सम्झिए ।

हिजोआज कतिपय सन्तानले आमाको महत्व नबुझेर हेला गर्ने विकृति आएको र यो पश्चिमा संस्कृतिको प्रभावले हुन थालेको उनको बुझाई छ । ‘जन्मदिने आमालाई वृद्धाश्रममा पठाउनु त पाप हो । आमाको सराप लाग्छ।’ उनले भने ।

आमालाई कहिल्यै दुःख दिन नहुने, आमालाई ठेस पुग्ने र बिझाउने कुनै पनि काम सन्तानले गर्न नहुने उनको सुझाव छ।