काठमाण्डौ । ‘जब भयो राति अनि बुढी ताती’ भन्ने उखानलाई चरितार्थ गर्दै दुुई दिनको आन्दोलनपछि लामो समयसम्म रहस्यमय ढंगले निस्क्रिय देखिएको सेयर लगानीकर्ता संघ नेपालले लगानीकर्ताको अरबौ डूूबेपछि मुख खोलेको छ । 

बजारमा अनावश्यक चलखेल भई सयौ लगानीकर्ताको जहाज डूूबेपछि निदाएर ब्यूँझिएको झै सेयर लगानीकर्ता संघ नेपालले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो । 

संघका महासचिव नवराज सुवेदीले मंगलबार बजारमा बाउन्स ब्याक भएपछि विज्ञप्ति जारी गर्दै लगानीकर्ताको हितमा आफूहरु दत्तचित्त भएर लागिरहेको दाबी पनि गरेका छन् । तर, यो बीचमा लगानीकर्ता संघले के के गर्यो, किन सुस्तायो भन्ने बिषयमा स्पष्टीकरण चाहि दिइएको छैन । 

उनले बजार चलखेलले घटेको दाबी गर्दै यसमा केही अनलाइन मिडियाहरुले झूठा समाचार सम्प्रेषण गरेका, केही व्यक्तिले गलत अफबाह फैलाएका जस्ता कारणलाई बजार घट्ने कारणको रुपमा प्रस्तुत गरेका छन् । तरलताको चरम अभाव, हकप्रद तथा सार्वजनिक निश्कासनको बाढी, मुुद्धती योजनामा बढेको ब्याजदर, बैंकको मार्जिन कल जस्ता यथार्थपरक र जटिल विषयमा लगानीकर्तालाई नेतृत्व गर्छौ भन्ने संघले चूूँसम्म बोलेको छैन । फितलो कारणसहित विज्ञप्ति प्रकाशित गरेर झारा टार्ने काम गरेको र यस्तो सुस्त तालले संघ चल्न नसक्ने भन्दै सामाजिक सञ्जालहरुमा लगानीकर्ताले नै विरोध गरिरहेका छन् । 

यसैबीच, यसअघि नै माघ १२ वा १३ गते नियामक निकायहरुको उपस्थितिमा लगानीकर्तालाई समेत सहभागी गराएर वृहत भेला गर्ने विषयमा भने संघले स्पष्टीकरण दिएको छ, तर पुरानै रटान दोहोर्याएर । चाँडै नै यस्तो भेला गर्ने उही पुरानो ओठे प्रतिबद्धता व्यक्त गरिएको छ । १२ वा १३ गते त्यस्तो भेला किन गर्न सकिएन भन्ने बिषयमा केही खुलाइएको छैन ।

एक लगानीकर्ताले बजारमा पहिरो गएर लगानीकर्ताको जहाज डूूबेपछि संघको ध्यानाकर्षण भएर वा आँखा खुुलेर अर्थ नहुने दाबी गरे । ‘एकदिन नेप्से र अर्को दिन बोर्ड घेराउ गरेको संघले त्यसपछि रहस्यमय मौनता साँधिरहेको छ ।’ ती लगानीकर्ताले बिजशालासँग भने–‘यत्रो दिनसम्म बजार दोहोरो अंकले घट्दा चलखेल नदेखेको संघले बजार जुन दिन बढ्यो, त्यो दिन आफूहरुका कारण बढेको भन्ने देखाउन कर्मकाण्डी विज्ञप्ति निकाल्नुको तुक छैन ।’ 

लगानीकर्ताहरुले बजारमा चलखेल बढेको भन्दै नियामक निकायहरुले शीघ्र अनुसन्धान थाल्नुपर्नेमा जोड दिएका छन् । संघले समेत सो बिषयमा प्रभावकारी कदम चाल्नुपर्नेमा उनीहरुको जोड छ ।