काठमाण्डौ । अपी पावर कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ ।

यो जलविद्युत कम्पनीको अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म १ करोड ५३ लाखमा सीमित खुद नाफा वृद्धि भई यो वर्ष सोही अवधिमा ४ करोड ४४ लाखको उचाईमा पुगेको छ ।

अघिल्लो वर्ष १ करोड ७५ लाख रुपैयाँमा सीमित रिजर्ब फण्ड बढेर ५ करोड ९० लाखको उचाईमा पुगेको छ । अघिल्लो वर्ष ९३ लाख ३२ हजारमा सीमित आम्दानी यो वर्ष बढेर १२ करोड २३ लाखको उचाईमा पुगेको छ । यो कम्पनीले यो अवधिमा विद्युत बिक्रीबाट आम्दानी बढाएको छ भने प्रशासनिक खर्च ४९ प्रतिशतको हाराहारीमा घटाउन सफल भएको छ ।

हाल यो कम्पनीको चुक्तापुँजी १ अर्ब ५ करोड रहेको छ । यो जलविद्युत कम्पनीले १ बराबर २ को अनुपातमा हकप्रद निश्कासन गर्दैछ । हकप्रद सम्बन्धी प्रस्ताव धितोपत्र बोर्डको पाइपलाइनमा छ । यसपछि चुक्तापुँजी  ३ अर्ब १५ करोडको उचाईमा पुग्नेछ ।
हकप्रदबाट संकलन हुने २ अर्ब १० करोडमध्ये यो कम्पनीले १ अर्ब १० करोड रुपैयाँ सोलार पावर प्रोजेक्टमा लगानी गर्नेछ भने १ सय करोड रुपैयाँ चाहि ७५ मेगावाट क्षमताको त्रिशुली गल्छी आयोजनामा लगानी गर्नेछ । यो आयोजना सिद्धकाली पावर लिमीटेडले धादिङ र नुवाकोटमा निर्माण गर्दैछ । यो कम्पनीले अरुण काबेली पावर लिमीटेडमा समेत ५ करोड लगानी गरेको छ ।

यो कम्पनीको वार्षिकीकृत  प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६५ पैसा, प्रति सेयर नेटवर्थ १०५ रुपैयाँ ६२ पैसा र मूल्य आम्दानी अनुपात १०८.९ गुणा कायम भएको छ । यसले यो कम्पनी निकै जर्जर अवस्थाबाट गुज्रिरहेको देखाउँछ । तर, खुद नाफातर्फको प्रगतिलाई कायम राखी अझ बढाउन सकेमा केही वर्षमा कम्पनीले आफूमा आमूल सुधार ल्याउनसक्ने समेत देखिन्छ ।