काठमाण्डौ। मार्चको दोस्रो साता। युरोप कोरोनाभाइरसको नयाँ केन्द्रविन्दु बन्दै थियो। चीनबाट सारा विश्वको ध्यान हटेर युरोपमा केन्द्रित भइरहेको थियो।

नभन्दै केही दिनमै कोरोनाभाइरसले युरोपको इटाली, स्पेन, फ्रानस र ब्रिटेनजस्ता देशलाई आफ्नो चपेटामा पार्यो। अहिले यी चारै देशको हालात निकै नाजुक छ।

त्यतिबेला जर्मनीका चान्सलर एन्गेला मार्केलको एउटा मन्तव्य आयो। मन्तव्यमा भनिएको थियो कि कोरोनाभाइरसले जर्मनीको ७० प्रतिशत आवादी अर्थात करिब ५ करोड ८० लाख मानिस संक्रमित बनाउन सक्छ।

एन्गेला आफैँ पनि क्वारेन्टाइनमा बसेकी थिइन्। त्यतिखेर सबैलाई लागेको थियो कि जर्मनीको अवस्थामा इटाली र स्पेनजस्तै हुन सक्छ। तर करिब एक महिनापछि जहाँ इटाली, स्पेन, फ्रान्स र ब्रिटेनमा हरेक दिन सयौँ मानिसको ज्यान गइरहेको थियो, त्यहीँ जर्मनीमा उनीहरुको तुलनामा निकै कम घटनाहरु भइरहेका थिए।

जर्मनीमा यस्तो के गर्यो ? जसले गर्दा त्यहाँ ज्यान गुमाउनेको संख्या निकै कम भयो।

त्यसो जर्मनीमा संक्रमित मानिसको संख्या इटाली र स्पेनकै हाराहारीमा छ। ताजा तथ्यांकअनुसार जर्मनीमा संक्रमितको संख्या १ लाख ७ हजार आसपास छ। जब कि संक्रमितको संख्या इटालीमा १ लाख ३५ हजार र स्पेनमा १ लाख ४१ हजार रहेको छ।

यता ज्यान गुमाउनेको संख्यामा भने निकै अन्तर रहेको छ। कोरोनाबाट इटालीमा १७ हजार र स्पेनमा १४ हजार बढीको ज्यान गइसकेको छ। तर जर्मनीमा केवल २ हजारको मात्र ज्यान गएको छ। 

यो हिसाबले जर्मनीमा मृत्युदर केवल ०.३ प्रतिशत रहेको छ। जब कि इटालीमा ९ प्रतिशत र ब्रिटेनमा ४.६ प्रतिशत रहेको छ।

यद्यपि जर्मनीका स्वास्थ्य अधिकारीहरुले आउने समय देशका लागि निकै चुनौतीपूर्ण रहेको बताउँदै आइरहेका छन्। 

टेस्टिङ

जर्मनीमा जनवरीको सुरुआतदेखि ने टेस्ट किट विकास गरिसकिएको थियो। जर्मनीमा पहिलो संक्रमित फेब्रुअरीमा मात्र देखिएको थियो। जब कि जर्मनीले त्यसअघि पूरै देशमा टेस्ट किट्सको व्यवस्था गरिसकेको थियो। 

जर्मनीको तुलनामा इटालीमा कोरोनाको संक्रमण दुई सातापहिला मात्र देखिएको थियो। 

जर्मनीमा मृत्युदर कम हुनुमा त्यहाँ गरिएको पूर्वतयारी नै मुख्य रहेको जानकारहरु बताउँछन्। जर्मनीले आवश्यकताअनुसार टेस्ट किट्सहरु तयार पारिसकेको थियो र लकडाउनका क्रममा टेस्टिङ ट्याक्सीहरु चलाइएको थियो। जसले लकडाउनका क्रममा घरघर गएर टेस्ट गथ्र्यो। यो समयमा मानिसको जाँच गर्न निकै सहज हुने भएकोले जर्मनीले यो उपाय अपनायो। तर अन्य युरोपेली देश यसमा चुके। 

जर्मनीका स्वास्थ्य अधिकारीहरुले सन्देश फैलाएका थिए कि यदि कसैलाई संक्रमणको आशंका भए अस्पताल आउनुपर्दैन केवल फोनमार्फत सूची गरे हुन्छ। र जसले सूचना दिन्छ उसको घरमै गएर स्वास्थ्य परीक्षण गरिन्छ।

जर्मनीले यो तरिका अपनाएर केवल एक सातामै १ लाख बढी मानिसको घरमै गएर कोरोना टेस्ट गरेको थियो। ‘यसको फाइदा यो भयो कि घरमै मानिसहरुले उपचार पाए र समयमै आइसोलेसनमा बस्न लगाइयो’, रोबर्ट कोच इन्स्टिच्युटका अध्यक्ष लोथर विलरले सञ्चारकर्मीसँग भने, ‘यसको नतिजा अहिले जर्मनीमा मृत्युदर निकै कम देखिएको छ।’

ट्रेसिङ र ट्र्याकिङ

जर्मनीले टेस्टिङका साथैसाथै ट्र्याकिङलाई पनि त्यतिकै प्राथमिकता दियो। युरोपका अन्य देश यसमा पनि चुके। 

सुरुआतमा जर्मनी यसमा खासै ध्यान दिएको थिएन। त्यसैले संक्रमितको संख्या बढ्दै थियो। तर पछि जर्मनीले टेस्टिङका साथसाथै ट्र्याकिङमा ध्यान बढायो। जसले गर्दा संक्रमित मानिस सम्पर्क आउने थाले र तुरुन्तै उपचार सम्भव भयो। 

यो ट्र्याकिङका क्रममा जर्मनीका थुप्रै स्कुल बन्द गरियो र ठूलो संख्यामा मानिसलाई आइसोलेसनमा राखियो।

हेल्थ केयर सिस्टम

जर्मनीको राम्रो हेल्थ केयर सिस्टम पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि तारिफयोग्य मानिन्छ। जर्मनीले समयमै अस्पतालहरुमा आईसीयूको संख्या बढाउनुका साथै अन्य बेड संख्या बढाउन पनि ध्यान दियो। जर्मनीकी डा सुजैन हेराल्ड भन्छिन्, ‘जर्मनीले आफ्नो क्षमता यति बढायो कि अहिले इटाली, स्पेन र फ्रान्सबाट आइरहेका बिरामीलाई पनि उपचार गरिरहेको छ।’

जनवरीसम्म जर्मनीमा भेन्टिलेटरयुक्त आईसीयू बेडको संख्याको २८ हजारमात्र थियो। अहिले यो संख्या बढेर ४० हजार भएको छ। 

अहिले जर्मनीमा हरेक १ हजार गम्भीर बिरामीमध्ये ६ जनाका लागि आईसीयू बेड छ। जब कि फ्रान्समा औसत ३.१, स्पेनमा २.६ र ब्रिटेनमा २.१ मात्र रहेको छ।

जर्मनी सरकारलाई जनताको साथ

कोरोना रोकथामको पूर्वतयारीका साथै जर्मनी सरकारले सीमा बन्द, सामाजिक दूरीजस्ता कठोर नियम पनि लागू गर्यो। त्यस्तै मार्चको अन्त्यतिर ३ जनाभन्दा बढी एकसाथ हिँड्न प्रतिबन्ध पनि लगाइयो। तर जनताले यी सबै नियमको पालना गर्दै सरकारलाई पूर्ण सहयोग गरे। देश पूर्ण रुपमा लकडाउन गर्दा पनि जनताले नियम उल्लंघन गरेनन्। जसका कारण संक्रमण फैलिनबाट रोक्न यो पनि एउटा अचुक उपाय बन्यो। – बीबीसीबाट भावानुवाद