काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) र प्राइसवाटर हाउस कूपर (पीडब्लूसी) भारतले तयार पारेको जलवायु परिवर्तनको प्रभाव र नेपालमा व्यवसाय अनुकूलन सम्बन्धी प्रतिवेदन सार्वजनिक भएको छ ।

सीएनआई र पीडब्लूसीले तयार पारेको अध्ययन प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरी सार्वजनिक गरिएको हो ।नेपालको अर्थतन्त्र र व्यवसायमा जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्ने नेपालको प्रयास र निजी क्षेत्रको पहलका रुपमा यसलाई महत्त्वपूर्ण मानिएको छ ।

अध्ययन प्रतिवेदनमा जलवायु परिवर्तनका कारण नेपालका ठूला तथा साना उद्योगहरुले सामना गर्ने जोखिम तथा समाधानका उपायहरु बारे सुझाव छन् ।व्यवसायलाई जलवायु परिवर्तनसँग अनुकूलन गर्न, सहज वातावरण बनाउन, जोखिम न्यूनीकरण रणनीति अवलम्बन गर्न र मूल्य सृङ्खलाका विषय प्रतिवेदनमा समेटिएको छ ।

जलवायु परिवर्तनबाट नेपालले भोगेको असरका विषयमा नेपालले अन्तरराष्ट्रिय मञ्चहरुमा प्रभावकारी ढंगले उठाउँदै आएको सन्दर्भमा निजी क्षेत्रले समेत यसलाई उच्च प्राथमिकता दिएको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्रतिवेदनले नेपाली व्यवसायहरूको लागि रोडम्याप तयार गर्न ठोस योजनाहरूको रूपरेखा प्रस्तुत गरेको बताए ।

उनका अनुसार यसमा जोखिम न्यूनीकरण रणनीतिको रूपमा अनुकूलनलाई पछ्याउने र राष्ट्रिय जलवायु अनुकूलन प्रयासहरूलाई समर्थन गर्ने सरकार, बहुपक्षीय र द्विपक्षीय एजेन्सीहरू जस्ता विभिन्न सरोकारवालाहरुको भूमिकाका विषयहरु समेत समेटिएका छन् ।

यसैगरी, पीडब्ल्यूसी इन्डियाका प्रबन्ध निर्देशक जयवीर सिंहले जलवायु अनुकूलन व्यवसायका लागि एक जिम्मेवारी मात्र नभएर रणनीतिको आवश्यकता रहेको बताए ।

जलवायु परिवर्तन र यसको असरले बढ्ने लागत तथा अन्य जोखिमसहित यस परिवर्तनशील परिदृश्यलाई अनुकूलन गर्न सक्रिय भई व्यवसायीहरूलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । 

सीएनआईका उपाध्यक्ष निर्वाण चौधरीले विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य भूमिका रहेको नेपाल जलवायु परिवर्तनबाट बढी प्रभावित राष्ट्रहरु मध्ये एक भएको बताए  ।