काठमाण्डौ । नेगेटिभ सर्किट ब्रेकर व्यहोर्दै भीषण पहिरो थेगेको २४ घण्टा नबित्दै बजारले शानदार ‘बाउन्स ब्याक’ गरेको छ । मंगलबार कारोबार सुरु भएको पहिलो एकघण्टामा सोमबारकै बियरिस ट्रेण्ड देखिएको बजार त्यसपछि एकाएक बाउन्स ब्याक भएको हो । 

लगानीकर्ताहरुले बजार सुधारका लागि गरेको पहल, उनीहरुले प्रस्तुत गरेका माग सम्बोधनका लागि सरकारले दिएको ग्रीन सिग्नल, संसदमा समेत अर्थमन्त्रीको बजार सम्बन्धी धारणा माग  र सस्तो मूल्यमा राम्रा कम्पनीको सेयर किन्ने लगानीकर्ताको सक्रियता लगायतका कारणले बजार एकाएक उछालको गतिमा दौडिएको देखिएको छ । 

मंगलबार कारोबार बन्द हुँदा समेत नेप्से परिसूचक ३९.१६ अंक(३.३५ प्रतिशत)ले वृद्धि भयो । एकघण्टासम्म राताम्मे देखिएको बजारका मुख्य समूहहरुले शानदार प्रदर्शन गर्दा बजारमा चमक देखिएको हो । एकघण्टापछि बजारमा एक्कासी खरीद चाप देखिएपछि कारोबार रकम पनि आधा अर्ब माथि पुुग्यो । 

बजारमा बिनाकारण धेरै ठूलो उछाल आउनुु वा बिनाकारण धेरै ठूलो गिरावट देखिनुु, दुवै प्रवृति घातक हो । धेरै बढ्दा हौसिने र घट्दा अत्तालिने काम लगानीकर्ताले गर्नुहुँदैन । यस्तो बेलामा बुद्धिमता अपनाई राम्रा कम्पनीहरुको सेयर सस्तोमै खरीद गर्ने अवसर छोप्नतिर लाग्नसके, भविष्यमा यसले राम्रो प्रतिफल दिनसक्छ । 

मंगलबार व्यापार समूहमा ३.१३ अंकले गिरावट भए पनि बाँकी सबै समूहको सूचकमा उछालको अवस्था देखियो । होटल समूह ७.५६ प्रतिशत(१२६.२६अंक)ले वृद्धि भयो भने बिमा समूह ५.५४ प्रतिशत(२९३.८६ अंक)ले वृद्धि भयो । 

यस्तै, पहिलो एकघण्टासम्म चौपट बनेको बैकिङ समूह अन्तिम अवस्थासम्म सुधार भई ३३.२७ अंकले बढेको छ । विकास बैंक समूह ४१.७, माइक्रोफाइनान्स समूह ६५.५, बित्त समूह २.४३, जलविद्युत समूह ६१.७७, उत्पादनमूलक १४.७६ र अन्य समूह ३.८८ अंकले बढेका छन् ।
‘क’ वर्गका कम्पनीको कारोबारमा एकाएक चमात्कारिक सुधार हुँदा सेन्सेटिभ इण्डेक्स ८.०९ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स २.९३ अंकले बढेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
बजारले चटक देखाएको यो दिन १ सय ६६ कम्पनीका १५ लाख ११ हजार ६ सय ४० कित्ता सेयर ५० करोड ६१ लाख २६ हजार ७ सय ३ रुपैयाँमा कारोबार भयो । 

यो दिन नेपाल लाइफ इन्स्योरेन्सको मात्रै १० करोड बढीको सेयर कारोबार भयो । नवील बैंकले २ करोड २९ लाख, इन्भेष्टमेन्ट बैंकले २ करोड २ लाख, नेपाल बैंकले १ करोड ९० लाख, सानिमा बैंकले १ करोड ५० लाख बढीको कारोबार गरे । राष्टिय बिमा कम्पनी लिमीटेडको १ करोड ३५ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा सिद्धार्थ बैंकले १ करोड ३१ लख, एभरेष्ट बैंकले १ करोड १० लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ६ वटा कम्पनीका लगानीकर्ताले पैसा छापे । एनएमबी माइक्रोफाइनान्स बित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । यस्तै, होरिएन्टल होटल लिमीटेड, रादी विद्युत कम्पनी, राष्टिय बिमा कम्पनी लिमीटेड, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र प्राइम लाइफ इन्स्योरेन्सको मूल्य पनि १० प्रतिशतकै हाराहारीमा बढ्यो ।

बजार हराभरा भएको दिन जानकी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाए । सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीमको इकाई मूल्यमा पनि ४ प्रतिशतकै हराहारीमा गिरावट आयो । यस्तै, यही रेञ्जमा सम्पत्ति गुमाउनेमा विजय लघुवित्त संस्था समेत देखियो ।