काठमाण्डौ । बजारका सुधारका केही सकारात्मक खबरको कम र चलखेल गर्नेहरुको बढी प्रभावका कारण ह्वात्तै बढेको बजारको वृद्धि यात्रा निरन्तर हुन सकेन । जसको फलस्वरुप मंगलबार नेप्से परिसूचकमा दोहोरो अंकको पहिरो गएको छ भने कारोबार रकममा पनि उस्तै गिरावट आएको छ । 

बजार परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर) समानान्तर ढंगले एकसाथ घट्नुु बजारका लागि राम्रो संकेत होइन । यो प्रवृति केही दिनसम्म निरन्तर रहे बजार आगामी दिनमा अझ बढी घट्ने विश्लेषकहरु बताउने गर्छन् । मंगलबारको गिरावटकै कारण बजार आगामी दिनमा अझ घट्नसक्छ भन्ने ठोकुुवा त गर्न सकिँदैन, तर आइतबार र त्यसअघिका २ कारोबार दिनमा उछालको गतिमा कुदेको बजार एकाएक सामसुम हुनुले सेयर बजारमा भइरहेको चलखेल र सोझा लगानीकर्ता फसाउने गतिविधितर्फ संकेत गर्दछ । ठूला भनिएका लगानीकर्ताहरु बढेको बजारलाई फेरि घटाई सस्तोमा सेयर उठाउने खेलमा लागेका समेत यसले संकेत गर्दछ । योसँगै बढेको बजारमा थोरै भए पनि नाफा बुक गर्ने सर्ट टर्म कारोबारी बजारमा कुन हदसम्म हाबी छन् र उनीहरुसँग बजारलाई आफू अनुकुल चलाउनसक्ने कुन हदसम्मको ल्याकत छ भन्ने कुरा समेत मंगलबारको बजारको अनपेक्षित गिरावटले देखाउने जानकार बताउँछन् । 

कतिपयले लगानीकर्ताका संघसंस्थाले अर्थमन्त्रीलाई भेटेपछि प्रवाह गरेको सकारात्मक आशयको समाचारले बजार बढाएको, तर अर्थमन्त्रीले उल्टै ती संघसंस्थाका प्रतिनिधिलाई झपारेको अडियो नै सार्वजनिक भएपछि लगानीकर्तामा त्यो भ्रम चिरिएका कारण पुनः मनोबल गिरी बजारमा बिक्रीको चाप देखिएको दाबी समेत गर्छन् । 

मंगलबार नेप्से परिसूचक १७.५५ अंकले घटेर १२७०.२३ विन्दूमा सीमित भएको छ भने कारोबार रकम अघिल्लो दिनको ९४ करोडबाट घटेर ३५ करोडमा सीमित बन्न पुुगेको छ। 

यो दिन बजारका सबै समूहको सूचकमा रातो पोतिएको छ । ‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप ह्वात्तै बढेपछि सेन्सेटिभ इण्डेक्स ३.६२ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा समेत १.२६ अंकले गिरावट आएको छ । 

यो दिन सबैभन्दा बढी उत्पादनमूलक समूहका लगानीकर्ताले घाटा व्यहोर्नुपरेको छ । यो समूहको सूचक ३.०५ प्रतिशत(६९.५८ अंक)ले घटेको छ । यस्तै, बैकिंग समूह १५.१९ अंक, बिमा समूह ९४.६३ अंक, विकास बैंक समूह १७.६४, माइक्रोफाइनान्स समूह २६.४६, होटल समूह ४.१६, जलविद्युत समूह ४०.५८, बित्त समूह ३.०९ र अन्य समूह ३.१५ अंकले घटेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६० कम्पनीका ९ लाख ८३ हजार १ सय ५९ कित्ता सेयर ३४ करोड ९० लाख ५१ ह्जार ७७ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी बुटवल पावर कम्पनीले १ करोड ३६ लाख बढीको कारोबार गरेको छ । नवील बैंकले १ करोड १८ लाख, युनिलिभर नेपाल लिमीटेडले ९६ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ९६ लाख, प्रभू इन्स्योरेन्सले ९५ लाख, चिलिमे हाइडोले ९४ लाख, स्ट्याण्डर्ड चार्टर्डले ९२ लाख, सूर्या लाइफ इन्स्योरेन्सले ८५ लाख, नेपाल बैंकले ८४ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन स्वदेशी लघुवित्तका सेयरधनीले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशतले वृद्धि भयो । यस्तै, उन्नति माइक्रोफाइनान्सको सेयर मूल्यमा समेत ६ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

यो दिन सबैभन्दा बढी हाम्रो विकास बैंकका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्य ७.५ प्रतिशतले घट्यो । तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य पनि ७  प्रतिशतको हाराहारीमा घट्यो ।