काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले व्यापाक चलखेल देखिएको घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरेको छ। 

सेबोनले आज एक सूचना जारी गर्दै घोराही सिमेन्टको र्आपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरेको हो। ‘जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इन्डस्ट्रीको सार्वजनिक निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गर्ने निर्णय भएको छ’, सूचनामा भनिएको छ। 

‘निष्कासन तथा बिक्री प्रबन्धकत्वमा सार्वजनिक निष्कासन भएको घोराही सिमेन्टलाई प्रदान गरेको इस्युअर रेटिङ, क्रेडिट रेटिङ नियमावली, २०६८ को नियम ३४ को उपनियम (२) विपरित भए नभएको बारेमा केयर रेटिङ नेपाल लिमिटेडलाई ३ दिनभित्र स्पष्ट गरी पेस गर्न २०६० जेठ ३० गतो पत्राचार गरिएकोमा केयर रेटिङ नेपाल लिमिटेडले हालसम्म जानकारी पेस नगरी कुनै आधार बिना म्याद थपका लागि अनुरोध गरेका साथै उक्त कम्पनीको सार्वजनिक निष्कासनमा मागभन्दा बढी कित्ता सेयरका लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निष्कासनको समयावधि थप गर्न सूचना प्रकाशित गरेको देखिएको सन्दर्भमा सर्वसाधारण लगानीकर्ताको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ र सार्वजनिक निष्कासनसम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्टको सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्णयानुसार जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ।

यसअघि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको घोराही सिमेन्ट इन्डस्ट्रीमा परेको ८५ लाख कित्ताभन्दा बढी कित्ताका सेयर दिइएको आवेदन रद्द भएको खुलेको थियो। 

घोराही सिमेन्टले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको छ। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको छ। यो आईपीओमा प्रतिकित्ता ४३५ रुपैयाँ दरका आवेदन दिनुपर्नेछ। जसमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेको छ। 

हिजो साँझ ५ बजेसम्म यो आईपीओमा ४ लाख ४५ हजार ८९० आवेदकबाट कुल १ करोड ७२ लाख ५५ हजार २५० कित्ता सेयर माग भएको थियो। जुन मागभन्दा २.४९ गुणाले बढी हो।

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले समेत ६५ हजारभन्दा बढी आवेदकबाट परेको ८५ लाखभन्दा बढी कित्ता आवेदन रद्द गरिएको जानकारी दिए थिए। बैंकमा पैसा नहुँदा ती आवेदन रद्द भएको उनले बिजशालालाई जानकारी दिएका थिए। 

प्रवक्ता न्यौपानेले ६ आवेदकबाट परेको ६० लाख कित्ता सेयर माग रद्द गरिएको बताए। ‘यी आवेदकमध्ये एउटैले १०–१० लाख कित्ता सेयर माग गरेका थिए’, उनले भने, ‘तर, माग गरिएको सेयरका लागि पुग्ने पैसा बैंकमा नभएपछि आवेदन रद्द गर्नुपरेको छ।’

यो हिसाबले यो आईपीओमा अहिलेसम्म परेको करिब ५० प्रतिशत सेयर माग रद्द भएको छ। 

ओभरसब्सक्राइब्ड भइसकेको घोराही सिमेन्टको आईपीओमा आज असार ४ गते निष्कासनको अन्तिम दिन थियो। कम्पनीले यथोचित संख्यामा आवेदन प्राप्त भए पनि आवेदनहरु प्रमाणित हुने प्रक्रियामा रहेकोले आवेदन दिने म्याद असार १४ गतेसम्म थप गरिएको जनाएको छ।

कम्पनीले ओभरसब्सक्राइब्ड भइसकेको आईपीओमा आवेदन दिने म्याद थप गर्नु र करिब ५० प्रतिशत सेयर माग रद्द हुनुले यसमा ठूलै चलखेल हुन सक्ने प्रस्ट देखिन्छ। ‘सोझासझा लगानीकर्तालाई बढी मूल्यमा आईपीओ भिडाउने दाउ यो हो’, एक जानकारले भने। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)को नियमअनुसार कुनै पनि कम्पनीको आईपीओ ५० प्रतिशतभन्दा कम सब्सक्राइब्ड भएको अवस्थामा आईपीओ निष्कासन प्रक्रिया नै रद्द हुन्छ। तर, ५० प्रतिशतभन्दा बढी सब्सक्राइब्ड भएको छ भने आईपीओमा म्याद थप गर्न सकिन्छ। तर, ओभरसब्सक्राइब्ड भइसकेको अवस्थामा भने तोकिएको ४ दिनभन्दा बढी समय आवेदन खुला गर्न पाइँदैन।

घोराही सिमेन्टको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन्।