काठमाण्डौ । अर्थमन्त्रीबाट राजीनामा गर्नुअघि पत्रकार सम्मेलन गर्दै डा. युवराज खतिवडाले आफूले व्यक्तिगत अभिष्टका लागि कुनै पनि काम नगरेको दाबी गरेका छन् । 

आफू निष्ठामा हिँड्ने मान्छे रहेको उल्लेख गर्दै यही निष्ठाका कारण आफूले अर्थमन्त्रालय बाहेक सूचना तथा संचार मन्त्रालय र सरकारको प्रवक्ताको समेत जिम्मेवारी पाएको उल्लेख गर्दै उनले भने-'मैले व्यक्तिगत अभिष्टका लागि केही गरेको छैन र आगामी दिनमा पनि गर्ने छैन । यो मेरो निष्ठा कायम रहन्छ । मैले पदमा रहँदा पनि इमानदारीपूर्वक र निष्ठापूर्वक ज्ञान र अनुभव प्रयोग गरेँ । सरकार बाहिर रहँदा पनि मेरो निष्ठा छाड्दिँन । निष्ठालाई कायम गर्ने कुरा जीवनपर्यन्त अभ्यासन गर्ने कुरा हो ।' 

उनले जाँदा जाँदै संचारकर्मीहरु, मन्त्रालयका कर्मचारी लगायतसँग माफी समेत मागेका छन् । 'काम गरिरहँदा सबै कुरा मिल्दैन । राष्टको दृष्टिले गर्दा व्यक्तिगत हितमा नहुनसक्छ । केही कामहरु गर्दा चित्त दुखेको भए मन्त्रीले राष्टको हितका लागि गर्दा यस्तो भएको हो भन्ने रुपमा बुझ्नुहोला ।'-उनले भनेका छन् । 

पदमा रहँदा निजी क्षेत्रका संचारमाध्यमसँग उपलब्ध हुन नमान्ने डा. खतिवडाले अन्तिम सम्बोधनमा भने अब चाहिँ आफू संचारमाध्यमहरुसँग सहज उपलब्ध हुने दाबी गरे । 'तपाईहरुसँग अब सहकार्य हुन्छ, म जुनसुकै बेला यहाँहरुसँग उपलब्ध हुन्छु ।'-उनले थपे । 

उनले आफूले अनपेक्षित रुपमा संचारमन्त्रालयको जिम्मेवारी पाएको र यहाँ काम गरिरहँदा संचार क्षेत्रलाई पनि बुझ्ने अवसर पाएको बताए । आफू संचारमन्त्रीको रुपमा रहँदा श्रमजिवी पत्रकारहरुका लागि धेरै काम गरेको समेत उनले दाबी गरे । कोभिडका कारण समस्यामा परेका संचारमाध्यमहरुको अवस्थाको विषयमा अध्ययन थालिएको समेत उनले जानकारी दिए । सूचना प्रविधिको विकासका लागि समेत धेरै काम सुरु भएका र आफूपछि आउने मन्त्रीले त्यसलाई निरन्तरता दिने अपेक्षा व्यक्त गरे । 

उनले आफूले राजीनामा दिए पनि सरकारबाहिर रहेर पनि मुलुक, देश विकास, नागरिकको विकास र समृद्धिको अभियानमा कुनै न कुनै रुपमा जुटिरहने प्रतिबद्धता समेत व्यक्त गरे । 

उनले आफूले सरकारको प्रवक्ताको रुपमा पनि रहूँला भन्ने सोंचभन्दा बाहिरको कुरा रहेको उल्लेख गर्दै भने-'यसका लागि प्रमले विश्वास गर्नुभयो, आभार प्रकट गर्छु ।'