काठमाण्डौ । जाजरकोटमा शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२८ पुगेको छ। भूकम्पमा परी जाजरकोटमा ९२ जना र रुकुम पश्चिममा ३६ जनाको ज्यान गएको हो। 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको छ। भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका यति धेरै संख्याले ज्यान गुमाएका हुन्। 

भूकम्पमा परी जाजरकोटमा कम्तीमा ५५ जना घाइते भएका छन्। तीमध्ये गम्भीर रहेका ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ। बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको छ।

उता रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको ज्यान गएको पुष्टि भएको छ। रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन्। तीमध्ये ९ जनाको अवस्था गम्भीर छ। उनीहरुलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। 

बाँकी घाइतेको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको छ। 

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीको सक्रियतामा घाइतेहरुको उद्धार भइरहेको छ। 

जाजरकोटको बारेकोट केन्द्र भएर शुक्रबार राति ११ः४७ बजे ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो। 

भेरी अस्पताललाई तोकियो डेडिकेट अस्पताल 

जाजरकोट भूकम्पका गम्भीर बिरामीको उपचारका लागि बाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल तोकिएको छ। 

गम्भीर घाइते बिरामीहरु जाजरकोट र रुकुम पश्चिमबाट रिफर हुने भएकोले भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको जिल्ला प्रशासन कार्यालय बाँकले जनाएको छ। अस्पतालमा सहज उपचारका लागि फोकल पर्सन पनि तोकेको छ। बिरामीका आफन्तले नरेश श्रेष्ठ (९८५११४३६६६)लाई सम्पर्क गर्नसक्नेछन्।

भूकम्पनीमा परी घाइते भएकाहरुको उपचारका लागि कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ। भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ। अस्पतालहरूमा पर्याप्त मात्रामा चिकित्सक, नर्सिङ स्टाफ, र लजिस्टिकको प्रबन्ध मिलाइएको छ।

यसैगरी हेलिकोप्टरबाट आउने बिरामीको लागि राँझा विमानस्थल, आर्मीको हेलिप्याडमा २÷२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ।