काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको पहिलो दिन शुक्रबार नै ओभरसब्सक्राइब्ड भएको छ। 

जीवन विकास लघुवित्तले आज (असार ११ गते) बाट १०० रुपैयाँ अंकित दरका कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गरेको छ। जसमा ३० हजार ४२० कित्ता कर्मचारीका लागि र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। 

सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म जीवन विकास लघुवित्तको आईपीओमा ६ लाख ६ हजार ६४४ आवेदकबाट कुल ९४ लाख ७१ हजार २४० कित्ता खरिदका लागि आवेदन परेको छ। यस हिसाबले यो आईपीओमा आजै मागभन्दा ५.१२ प्रतिशत बढी कित्ताका लागि आवेदन परेको हो। अब यो आईपीओ पनि गोलाप्रथाबाटै बाँडफाँड हुने निश्चित भएको छ। 

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फ आवेदन दिन सकिनेछ। 

जीवन विकास लघुवित्तको आईपीओ निष्कासन बन्द छिटोमा असार १५ गते र ढिलोमा असार २५ गते बैंकिङ समयपछि हुने भनिएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।