काठमाण्डौ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ। 

समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन यही जेठ ५ गते सकिँदैछ।

आजै स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि जारी लकडाउनको समीक्षा गर्दै समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो। समितिले उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तन गर्न सरकारलाई सिफारिस गर्नेछ। 

छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञहरुले भने अहिलेको अवस्था र लकडाउनको मोडालिटी परिवर्तन गरी कसरी जनजीवन सहज बनाउन सकिन्छ भन्ने निर्णय लिन सुझाएका थिए। उनीहरुले परीक्षण, कन्ट्याक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्नेलगायतका सुझाव पनि दिएका छन्। आत्तिनुपर्ने अवस्थामा नभए पनि सचेत हुनुपर्ने अवस्था रहेको भन्दै स्वास्थ्य विज्ञहरुले विदेशबाट आउनेहरुको हकमा सम्बन्धित स्थानीय तहहरुमा क्वारेन्टाइनको उचित व्यवस्थान गरी ल्याउनुपर्ने सल्लाह दिएका छन्।